काठमाडौं । नेपाल आयल निगमले भोलि अर्थात् असार ३१ गतेदेखि देशभर साविककै १४.२ किलोग्राम क्षमताको एलपी ग्यास सिलिन्डर बिक्री वितरण गर्ने व्यवस्था मिलाएको छ । निगमले आज एक प्रेस विज्ञप्ति जारी गर्दै उपभोक्ताको उच्च माग र आपूर्ति व्यवस्थामा आएको सुधारलाई मध्यनजर गर्दै यो निर्णय सार्वजनिक गरेको हो ।
यसअघि आपूर्ति व्यवस्थालाई व्यवस्थित र सहज बनाउन भन्दै निगमले २०८२ फागुन २९ गतेदेखि लागू हुने गरी अर्को निर्णय नभएसम्मका लागि आधा तौल अर्थात् ७.१ किलोग्रामको सिलिन्डर मात्र बिक्री वितरण गर्ने निर्णय गरेको थियो ।
हाल इन्डियन आयलका विभिन्न बोटलिङ प्लान्ट तथा रिफाइनरीहरूबाट भएको ग्यास लोड हुने अवस्थामा सुधार आएकाले पुनः साविककै १४.२ किलोग्रामको ग्यास सिलिन्डर बिक्री गर्न लागिएको निगमले जनाएको छ । नयाँ व्यवस्था अनुसार १४.२ किलोग्रामको पूर्ण सिलिन्डरको उपभोक्ता मूल्य २ हजार ६० रुपैयाँ निर्धारण गरिएको छ ।
बजारमा रहेका ७.१ केजीका सिलिन्डरहरू पूर्ण रूपमा विस्थापित नहुन्जेलसम्म केही समय दुवै तौलका सिलिन्डरहरू एकैसाथ उपलब्ध हुन सक्ने भएकाले उपभोक्ताहरूलाई तौल र मूल्य राम्रोसँग यकिन गरेर मात्र ग्यास खरिद गर्न निगमले अनुरोध गरेको छ ।
साथै, हाल इन्डियन आयल कर्पोरेसनबाट एलपी ग्यासको आयात नियमित रूपमा भइरहेकाले उपभोक्तालाई अनावश्यक रूपमा ग्यास भण्डारण (होर्डिङ) नगर्न र आफ्नो आवश्यकता अनुसार मात्र खरिद गर्न समेत नेपाल आयल निगमले विशेष आग्रह गरेको छ ।