सामाजिक सञ्जालमा युवतीको चरित्रहत्या गर्ने छुट्टाछुट्टै घटनामा दुई जना पक्राउ परेका छन् । नेपाल प्रहरीको साइबर ब्यूरोले एक भारतीय र अर्का नेपाली युवालाई पक्राउ गरेको हो । पीडित महिलाको अश्लिल तस्बिर र भिडियोको दुरुपयोग गरी ब्ल्याकमेल गर्नुका साथै दुख हैरानी दिने भारतीय नागरिकलाई पक्राउ गरिएको ब्यूरोका प्रवक्ता एसपी दिलीपकुमार गिरीले जानकारी दिए ।
उनका अनुसार पक्राउ पर्नेमा भारतको गुहाटी मदनपुर आसामका २६ वर्षीय जावरुल हक रहेका छन् । उनलाई शुक्रबार पक्राउ गरी काठमाडौं जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी अनुसन्त्रधान अघि बढाइएको प्रवक्ता एसपी गिरीले बताए । यस्तै सोही प्रकृतिको घटनामा ओखलढुंगाको चम्पादेवी गाउँपालिका घर भइ हाल काठमाडौं बस्ने २४ वर्षीय सरोज कार्कीलाई प्रहरीले पक्राउ गरेको छ ।
अध्ययनको शिलशिलामा चिनजान भइ साथी हुँदै प्रेम सम्बन्धमा रहेको र छुटेपछि सामाजिक सञ्जालबाट अश्लिल सामग्रीहरु पोष्ट गरी दुख हैरानी दिने गरेको खुल्न आएको छ । कार्कीलाई समेत काठमाडौं जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको एसपी गिरीले बताए ।