काठमाडौँ । महिलाको इमेलमा बारम्बार अश्लील तथा अपमानजनक म्यासेज पठाई चरित्र हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा नुवाकोटको तार्केश्वर गाउँपालिका वडा नं. ५ स्थायी घर भई हाल काठमाडौँको बुढानिलकण्ठ नगरपालिका वडा नं. १० कपन बस्ने ३४ वर्षीय सुरेन्द्र प्रसाद खनाल रहेका छन्।
पीडित महिलाले आफ्नो इमेलमा निरन्तर अश्लील र अपमानजनक सन्देशहरू पठाएर दुःख, हैरानी र मानसिक तनाव दिएको भन्दै कानुनी कारबाहीका लागि निवेदन दिएकी थिइन् । सोही निवेदनका आधारमा नेपाल प्रहरीको साइबर ब्यूरोले प्राविधिक विश्लेषण र अनुसन्धान सुरु गरेको थियो ।
अनुसन्धानका क्रममा खनालको संलग्नता पुष्टि भएपछि ब्यूरोको टोलीले उनलाई यही असार २६ गते काठमाडौँ महानगरपालिका वडा नं. २७ बाट पक्राउ गरेको हो ।
पक्राउ परेका खनालमाथि विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ अन्तर्गतको कसूरमा अनुसन्धान अगाडि बढाइएको छ। उनलाई थप अनुसन्धानका लागि सम्मानित काठमाडौँ जिल्ला अदालतबाट ५ (पाँच) दिनको म्याद थप गरी हिरासतमा राखिएको ब्यूरोले जनाएको छ ।