कैलाली । कैलालीमा विद्यालयबाट हराएकी ६ वर्षीया बालिका मृत अवस्थामा फेला परेकी छन् । लम्कीचुहा नगरपालिका–४ की मनिषा विक बुधबार रोरा खोला किनारमा मृत अवस्थामा फेला परेकी जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
जनचेतना प्राथमिक विद्यालयमा नर्सरी कक्षामा अध्ययनरत मनिषालाई मंगलबार बिहान करिब ७ बजे उनकी हजुरआमाले विद्यालय पुर्याएकी थिइन् । विद्यालयको नियमित बिदा समय बिहान ११ बजे भए पनि मंगलबार विशेष कारणवश ९ बजे नै बिदा गरिएको थियो ।
हजुरआमा नियमित समयअनुसार ११ बजे विद्यालय लिन पुग्दा मनिषा त्यहाँ नभेटिएपछि परिवारले खोजी सुरु गरेको थियो । बालिका सम्पर्कविहीन भएपछि प्रहरी र स्थानीयवासीको सहयोगमा खोजी अभियान सञ्चालन गरिएको थियो ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) योगेन्द्र तिमिल्सिनाका अनुसार बुधबार लम्कीचुहा नगरपालिका–५ चौरीस्थित रोरा खोला किनारमा मनिषाको शव फेला परेको हो । घटनाको कारण खुल्न बाँकी रहेको र यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।