अफ्रिकन स्वाइन फिभरबाट गोरखामा २५० भन्दा बढी सुँगुर र बङ्गुर मरेका छन् । दुई महिनायता फैलिएको अफ्रिकन स्वाइन फिभरको सङ्क्रमणबाट हालसम्म २५० भन्दा बढी सुँगुर र बङ्गुर मरेको जिल्लास्थित भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले जनाएको छ ।
केन्द्रका प्रमुख अनन्त कोइरालाका अनुसार गोरखा नगरपालिका–६, मानवसेवा आश्रम टोलका किसान राजकुमार श्रेष्ठको फार्मका ८० वटा र सोही क्षेत्रकी जुना रेग्मीको फार्मका १० वटा बङ्गुर मरेका छन् । त्यस्तै मान्द्रेढुङ्गाका धनकुमार गुरुङको फार्मका ६० वटा बङ्गुर दुई साताको अवधिमा मरेका उहाँले जानकारी दिए । बाँकी अन्य किसानका फार्मका सुँगुर र बङ्गुर पनि सङ्क्रमणका कारण मरेका हुन् ।
अहिलेसम्मको तथ्याङ्कअनुसार गोरखा नगरपालिका–६, ७ र ८ तथा सहिद लखन गाउँपालिका–७ का फार्ममा रहेका सुँगुर र बङ्गुरमा अफ्रिकन स्वाइन फिभरको सङ्क्रमण फैलिएको छ । उनका अनुसार जिल्लामा यो रोगको सङ्क्रमण पहिचान भएको करिब दुई महिना मात्र भएको छ ।
कार्यालय प्रमुख कोइरालाले भने, ‘अहिलेसम्म यस रोगको न उपचार छ, न त खोप नै उपलब्ध छ । त्यसैले सङ्क्रमण भएपछि सुँगुर र बङ्गुर मर्नु निश्चितजस्तै हुन्छ । सङ्क्रमित स्थानमा पुगेका मानिसको लसपस, दाना तथा औषधिमार्फत पनि यो रोग सर्न सक्छ ।’ उनका अनुसार उपचार नभएकाले यसबाट बच्न आवश्यक सावधानी अपनाउनु नै एक मात्र उपाय हो ।
‘अफ्रिकन स्वाइन फिभरका कारण धमाधम सुँगुर र बङ्गुर मरेका जानकारी आएका छन् । केही फार्म दर्ता भएका छन् भने केही दर्ताविहीन भएकाले सबै विवरण प्राप्त नभएको हुन सक्छ’, कोइरालाले भने । उनले रोगबाट बच्न सङ्क्रमित खोर तथा त्यहाँको संसर्गबाट टाढा रहन सुझाव दिए ।
किसान धनकुमार गुरुङका अनुसार सङ्क्रमण भएपछि सुँगुर र बङ्गुरमा ज्वरो आउने, खाना खान छाड्ने, शरीरमा धब्बा वा दाग देखिने तथा करिब एक साताभित्र मर्ने लक्षण देखिने गर्दछ ।
कालिमाटीमा रायोको सागमा भेटियो अत्यधिक विषादी
कालिमाटीमा भक्तपुरबाट ल्याएको रायोको सागमा अत्यधिक विषादी देखिएको छ । कृषि विभागअन्तर्गतको केन्द्रीय कृषि प्रयोगशाला, विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला एकाइले आज बिहान गरेको परीक्षणमा भक्तपुरको मध्यपुर थिमी नगरपालिकाबाट ल्याइएको रायोको सागमा विषादीको मात्रा तोकिएको मापदण्डभन्दा बढी देखिएको हो ।
परीक्षण प्रतिवेदनअनुसार उक्त रायोको सागमा अर्गानोफस्फेटको मात्रा ५०.०१६० प्रतिशत देखिएकाले त्यसलाई ‘विसर्जन गर्ने’ (नष्ट गर्नुपर्ने) श्रेणीमा राखिएको छ । प्रयोगशालाले कुल १२ वटा तरकारीका नमुनामा परीक्षण गरेको थियो। तीमध्ये रायोको साग, हरियो प्याज, निगुरो, काँक्रो, हरियो धनियाँ, घिरौँला र गोलभेँडा समावेश थिए । बाँकी ११ वटा नमुनामा भने विषादीको मात्रा ‘उपभोग योग्य’ सीमाभित्रै रहेको पाइएको छ ।
प्रयोगशालाका अनुसार ३५ प्रतिशतभन्दा कम विषादीको मात्रा भएका तरकारी उपभोगका लागि सुरक्षित मानिन्छन् । ३५ देखि ४५ प्रतिशतसम्म विषादी देखिएका तरकारीलाई केही दिन क्वारेन्टाइनमा राख्नुपर्ने हुन्छ भने ४५ प्रतिशतभन्दा बढी विषादी पाइएका तरकारी खान अयोग्य ठहर गरी पूर्ण रूपमा नष्ट गर्नुपर्ने व्यवस्था छ । प्रयोगशालाले यो परीक्षण केवल कार्बामेट र अर्गानोफस्फेट समूहका कीटनाशक विषादीमा मात्र केन्द्रित रहेको जनाएको छ ।