काठमाडौँ । कालिमाटीमा भक्तपुरबाट ल्याएको रायोको सागमा अत्यधिक विषादी देखिएको छ । कृषि विभागअन्तर्गतको केन्द्रीय कृषि प्रयोगशाला, विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला एकाइले आज बिहान गरेको परीक्षणमा भक्तपुरको मध्यपुर थिमी नगरपालिकाबाट ल्याइएको रायोको सागमा विषादीको मात्रा तोकिएको मापदण्डभन्दा बढी देखिएको हो ।
परीक्षण प्रतिवेदनअनुसार उक्त रायोको सागमा अर्गानोफस्फेटको मात्रा ५०.०१६० प्रतिशत देखिएकाले त्यसलाई ‘विसर्जन गर्ने’ (नष्ट गर्नुपर्ने) श्रेणीमा राखिएको छ । प्रयोगशालाले कुल १२ वटा तरकारीका नमुनामा परीक्षण गरेको थियो। तीमध्ये रायोको साग, हरियो प्याज, निगुरो, काँक्रो, हरियो धनियाँ, घिरौँला र गोलभेँडा समावेश थिए । बाँकी ११ वटा नमुनामा भने विषादीको मात्रा ‘उपभोग योग्य’ सीमाभित्रै रहेको पाइएको छ ।
प्रयोगशालाका अनुसार ३५ प्रतिशतभन्दा कम विषादीको मात्रा भएका तरकारी उपभोगका लागि सुरक्षित मानिन्छन् । ३५ देखि ४५ प्रतिशतसम्म विषादी देखिएका तरकारीलाई केही दिन क्वारेन्टाइनमा राख्नुपर्ने हुन्छ भने ४५ प्रतिशतभन्दा बढी विषादी पाइएका तरकारी खान अयोग्य ठहर गरी पूर्ण रूपमा नष्ट गर्नुपर्ने व्यवस्था छ । प्रयोगशालाले यो परीक्षण केवल कार्बामेट र अर्गानोफस्फेट समूहका कीटनाशक विषादीमा मात्र केन्द्रित रहेको जनाएको छ ।