काठमाडौँ । नेपालको वैदेशिक व्यापारमा नयाँ रेकर्ड कायम भएको छ । चालु आर्थिक वर्षको चालु आर्थिक वर्षको ११ महिनामा आयात निर्यात हालसम्मकै उच्च उच्च विन्दुमा पुगेको हो । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार ११ महिनामा नेपालले १८ खर्ब ९४ अर्ब ९ करोड रुपैयाँको वस्तु आयात गरेको छ, भने २ खर्ब ७७ अर्ब ९६ करोड रुपैयाँको वस्तु निर्यात भएको छ ।
व्यापारमा वृद्धि भएसँगै व्यापार घाटा पनि चुलिँदै गएको छ । चालु आवको ११ महिनामा १६ खर्ब १६ अर्ब १३ करोड रुपैयाँको वैदेशिक व्यापार घाटा भएको छ । नेपालले विश्वका १५७ वटा देशसँग व्यापार गरेकामा केवल ३४ वटा साना देशसँग मात्र व्यापार नाफा आर्जन गरेको छ, भने बाँकी १२३ देशसँगको व्यापारमा नेपालले ठुलो घाटा बेहोरेको छ ।
नेपालको सबैभन्दा ठुलो व्यापार घाटा भारतसँग छ । भारतबाट १० खर्ब ९२ अर्ब २ करोड २४ लाख ४० हजार रुपैयाँको आयात हुँदा नेपालबाट २ खर्ब २८ अर्ब १३ करोड १८ लाख ५० हजार रुपैयाँको वस्तु निर्यात भएको छ । भारतसँग मात्रै नेपालको व्यापार घाटा ८ खर्ब ६३ अर्ब ८९ करोड रुपैयाँ पुगेको छ । चीनसँग ३ खर्ब ८० अर्ब ६५ करोड ५१ लाख ६१ हजार रुपैयाँ नेपालको व्यापार घाटा छ । ११ महिनामा चीनबाट ३ खर्ब ८२ अर्ब २४ करोड ९६ लाख ४४ हजार रुपैयाँको आयात हुँदा निर्यात भने १ अर्ब ५९ करोड ४४ लाख ८३ हजार रुपैयाँमा सीमित भएको छ ।
नेपालले वैदेशिक व्यापार गर्ने देशहरूमध्ये डेनमार्कसँग सबैभन्दा बढी ७२ करोड ४१ लाख ३४ हजार रुपैयाँ व्यापार नाफा आर्जन गरेको छ । डेनमार्कमा नेपालबाट ९० करोड ६८ लाख ५३ हजार रुपैयाँको वस्तु निर्यात भएको छ भने त्यहाँबाट १८ करोड २७ लाख १९ हजार रुपैयाँको वस्तु आयात भएको छ ।
भन्सार विभागका अनुसार चालु आर्थिक वर्ष (२०८२÷०८३) को पहिलो ११ महिनामा नेपालमा सबैभन्दा बढी मूल्यको पेट्रोलियम पदार्थ आयात भएको छ । यो अवधि ३ खर्ब ४३ अर्ब ४३ करोड २४ लाख १ हजार रुपैयाँ बराबरको पेट्रोलियम पदार्थ भित्रिएको छ । यो कुल आयातको करिब १८.१ प्रतिशत हिस्सा हो ।
त्यस्तै, १ खर्ब ६२ अर्ब ३३ करोड ५ लाख २३ हजार रुपैयाँको कच्चा तेल आयात भएको छ । त्यस्तै, मेसिनरी तथा मेकानिकल पार्टपुर्जाहरू छन्, जसको आयात मूल्य १ खर्ब ४० अर्ब ८ करोड ८६ लाख १० हजार रुपैयाँ छ ।
सवारी साधन र तिनका पार्टपुर्जा मात्रै १ खर्ब १२ अर्ब २२ करोड ५९ लाख रुपैयाँको आयात भएको छ । ६५ अर्ब ३२ करोड रुपैयाँको प्लास्टिक, ६२ अर्ब ७८ करोड रुपैयाँको सुनचाँदी तथा बहुमूल्य गहना, ५५ अर्ब ९३ करोड रुपैयाँको खाद्यान्न (अन्न) र ४९ अर्ब ८३ करोड रुपैयाँको रासायनिक मल आयात भएको विभागको तथ्यांक छ ।
११ महिनाको अवधिमा नेपालबाट १ खर्ब ३१ अर्ब १० करोड ८० लाख रुपैयाँ बराबरको प्रशोधित तेल निर्यात भएको छ । त्यस्तै, १७ अर्ब २९ करोड ११ लाख रुपैयाँ बराबरको चिया, कफी, अलैँची र मसलाजन्य वस्तु निर्यात भएको छ । १२ अर्ब ८६ करोड रुपैयाँको सिन्थेटिक धागो (मानव निर्मित फाइबर), १० अर्ब ६८ करोड रुपैयाँको नेपाली गलैँचा तथा कार्पेटजन्य वस्तुहरू र ९ अर्ब १५ करोड रुपैयाँको पशुआहार निर्यात भएको छ । ८ अर्ब ८९ करोड रुपैयाँको काठ तथा काठका सामान र ७ अर्ब ७४ करोड रुपैयाँको तयारी पोसाक निर्यात भएको छ ।