काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले पूर्वाधार विकास मन्त्री सुनिल लम्सालको विवादित अभिव्यक्तिबारे प्रश्न उठाएका छन्।
प्रतिनिधिसभामा बैठकमा बोल्दै उनले मन्त्री लम्सालले ठेकेदारको खुट्टा भाँच्ने भन्ने अभिव्यक्ति दिनु कानुनसम्मत थियो वा थिएन? भन्दै प्रश्न गरे।
उनले प्रश्न गर्दै भने, ‘माननीय मन्त्रीज्यूले ठेकेदारको खुट्टा भाँच्नु भन्ने आदेश दिनुभएको थियो। त्यो कानुनबमोजिम थियो कि थिएन? कुन खुट्टा भाँच्ने हो, दाहिने कि देब्रे? त्यो पनि स्पष्ट भएन। मन्त्रीको हैसियतबाट दिन मिल्ने खालको आदेश हो कि होइन? ठेकेदारलाई मन्त्रालयमै बोलाएर धाकधम्की दिने, गाली गलौच गर्ने र थर्काउने कुरा कानुन बमोजिम थियो कि थिएन?’
उनले सरकारको आगामी आर्थिक वर्षको बजेटमाथि पनि असन्तुष्टि जनाए। दुर्गम तथा पिछडिएका क्षेत्रमा भौतिक पूर्वाधार विकासका लागि पर्याप्त बजेट विनियोजन नभएको आरोप लगाए।