काठमाडाैँ । सशस्त्र प्रहरीले मोरङ जिल्लाको जहदा गाउँपालिका–७ स्थित महादेवकोल ईलाकाबाट जेठ २८ गते करीब ९ सय २२ केजी गाँजा बरामद गरेको छ । सशस्त्र प्रहरी बल, नेपाल सीमा सुरक्षा गुल्म सोराभाग र बोर्डर आउट पोष्ट नोचाबाट खटिएको टोलीले जेठ २७ गते राती ११ बजे पाएको विशेष सूचनाको आधारमा उक्त गाँजा बरामद गरेको हो ।
लक्ष्मिनियाबाट तारीगामातर्फ जाँदै गरेको को १ ख ७०२२ नम्बरको वानटन पिकअप गाडीमा धानको भुसको बोराले छोपेर लुकाई छिपाई लैजाँदै गरेको उल्लेखित परिमाणको २९ पोका गाँजा बरामद गरिएको हो ।
उक्त गाडीलाई स्कटिङ गर्ने बीआर ३८ जेड ७४५२ नम्बरको भारतीय मोटरसाईकल समेत नियन्त्रणमा लिईएको छ । गाडी र मोटरसाईकल चालक भने फरार भएका थिए । नियन्त्रणमा लिइएको गाडी, मोटरसाईकल र बरामद गाँजा सम्बन्धित निकायमा बुझाईएको छ ।