भक्तपुुर । सूर्यविनायक नगरपालिकाले व्यवस्थित सहरीकरण गर्ने योजना अनुसार सडकपेटीका दायाँबायाँ फुुटपाथ व्यवस्थापन गर्न थालेको छ । नगर क्षेत्रलाई व्यवस्थित, सफा र पैदलयात्रुमैत्री बनाउने अभियानलाई तीव्रता दिँदै नगरपालिकाले सडक पेटीका सामान व्यवस्थपन गर्ने कार्यलाई तीव्रता दिएको हो ।
नगरपालिकाले नियम विपरीत फुटपाथ तथा सडक पेटी अतिक्रमण गरी जथाभावी व्यापार गर्ने, सार्वजनिक स्थान कब्जा गर्ने तथा नगरको सौन्दर्यमा असर पु¥याउने गतिविधिविरुद्ध निरन्तर कडा कारबाही गर्दै आएको छ । सूर्यविनायक चोक क्षेत्रमा फुटपाथ अतिक्रमण गरी राखिएका व्यापारिक सामग्री नगर प्रहरी बलले नियन्त्रणमा लिई जफत गरेको गर्दै आएको छ । सोही अभियानलाई निरन्तरता दिँदै आज नगरका विभिन्न स्थानहरूमा समेत यस्ता गतिविधिविरुद्ध कारबाही गरिएको छ ।
नगर प्रहरी बलले विभिन्न स्थानमा फुटपाथ तथा सडक पेटी अतिक्रमण गरी राखिएका दर्जनौँ सामग्रीहरू जफत गरेको छ । पटक–पटक सम्झाउँदा, सचेत गराउँदा तथा निर्देशन दिँदा पनि अटेरी गर्ने व्यवसायीहरूलाई लक्षित गर्दै नगरपालिकाले कडा रूपमा अभियान अघि बढाएको हो ।
नगरपालिकाले सार्वजनिक सडक तथा फुटपाथलाई सर्वसाधारणको सहज आवतजावतका लागि सुरक्षित राख्नुपर्ने स्पष्ट गर्दै अब यस्ता गतिविधि कुनै पनि अवस्थामा स्वीकार्य नहुने जनाएको छ । नगर क्षेत्रभर निरन्तर अनुगमन र कारबाही अभियान जारी रहने र नियम उल्लङ्घन गर्ने जो–कोहीमाथि बिना छुट कानुनी प्रक्रिया अघि बढाइने चेतावनी पनि दिएको छ ।
नगरपालिकाले जारी गरेका निर्देशनहरूको पूर्ण पालना गर्न सम्पूर्ण व्यवसायी तथा सर्वसाधारणलाई आग्रह गर्दै अटेरी गरेमा जरिवानासहित कडा कारबाहीको भागीदार बन्नुपर्ने स्पष्ट पारेको छ ।