भक्तपुुर । भक्तपुरको चाँगुुनारायण नगरपालिका अब योग नगर बनेको छ । ऐतिहासिक, सांस्कृतिक तथा धार्मिक महत्व बोकेको चाँगुनारायण नगरपालिकालाई औपचारिक रूपमा ‘योग नगर’ घोषणा गरिएको हो । 
वागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्र बानियाँले चाँगुुनारायण नगरपालिकालाई योग नगरको रूपमा घोषणा गरेका हुनू । वागमती प्रदेशका संस्कृति तथा पर्यटन मन्त्री सुरेश श्रेष्ठले योग नगरको ब्राण्डिङले चाँगुनारायणको पर्यटन प्रवद्र्धनमा नयाँ आयाम थप्ने विश्वास व्यक्त गरे । उनले योग, संस्कृति र पर्यटनलाई एकीकृत गर्दै चाँगुनारायणलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गन्तव्यका रूपमा विकास गर्न सकिने स्पष्ट पारे । जिल्ला प्रशासन कार्यालय भक्तपुरका सहायक प्रमुख जिल्ला अधिकारी सुरेश आचार्य ले योग नगरको अवधारणालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न प्रशासनिक तथा प्राविधिक सहयोग रहने प्रतिबद्धता व्यक्त गरे ।
नगरपालिकाको आयोजनामा सम्पन्न उक्त योग नगर घोषणा कार्यक्रमको सभापतित्व नगरप्रमुख जीवन खत्रीले गरे थिए । कार्यक्रममा ‘चाँगु योग ज्योति सन्देश’ नामक स्मारिकाको समेत विमोचन गरिएको थियो । कार्यक्रमको प्रारम्भमा पातञ्जल योग समिति नेपाल का संरक्षक बालमुकुन्द सुवाल ले योग साधना गराउँदै वातावरणलाई ऊर्जामय बनाउनु भएको थियो ।
नगर प्रवक्ता जनक खत्री ले स्वागत मन्तव्य राखेको कार्यक्रममा सञ्चालन नगरपालिकाकी कर्मचारी रन्जना सापकोटाले गरेका थिए । कार्यक्रममा विभिन्न योग संस्थाका प्रतिनिधि, साधक तथा स्थानीयवासीको उल्लेख्य उपस्थिति रहेको थियो । साथै संघीय सांसद गुरु बराल सहित योग क्षेत्रका विज्ञहरूले योग नगर घोषणाले स्वस्थ, सकारात्मक र अनुशासित समाज निर्माणमा महत्वपूर्ण योगदान पुग्ने धारणा राखे ।
समापन मन्तव्यमा नगरप्रमुख जीवन खत्रीले योगलाई नगरको दीर्घकालीन नीति र जीवनशैलीसँग जोड्ने प्रतिबद्धता व्यक्त गर्दै योग अब कागजमा सीमित नभई प्रत्येक वडा र टोलसम्म पुग्ने बताए । उनले नगरवासीको स्वास्थ्य, सकारात्मक सोच र समृद्धिका लागि नियमित योग शिविर तथा योग शिक्षालाई प्राथमिकतामा राखिने जानकारी दिए ।