नेकपा एमालेले अन्तरपार्टी निर्देशन (अपानि) सार्वजनिक गरेको छ । गत जेठ ४ गते शुरु भएर १० गते सकिएको सचिवालय बैठकको निर्णयसहित अपानि सार्वजनिक गरिएको हो । उक्त अपानिअनुसार एमालेले प्रचार विभाग प्रमुखको जिम्मेवारी केन्द्रीय सदस्य निरज आचार्यलाई दिएको छ । पार्टीको प्रचार फाँटसम्वद्ध जनसंगठन प्रेस चौतारी नेपालको इञ्चार्जमा केन्द्रीय सदस्य रामकुमारी झाँक्रीलाई तोकिएको छ ।
एमालेले ११औँ महाधिवेशनबाट निर्वाचित पदाधिकारीहरूको वरीयता निर्धारण गरेको छ। निर्धारित वरीयताअनुसार अध्यक्षमा केपी शर्मा ओली, पहिलो उपाध्यक्षमा रामबहादुर थापा, दोस्रो उपाध्यक्षमा विष्णु पौडेल, तेस्रो उपाध्यक्षमा पृथ्वीसुब्बा गुरुङ, चौथो उपाध्यक्षमा गोकरण विष्ट र पाँचौँ उपाध्यक्षमा रघुजी पन्त रहेका छन् ।
महासचिवमा शंकर पोखरेल तथा उपमहासचिवहरूमा लेखराज भट्ट, योगेश भट्टराई र रघुवीर महासेठ रहेका छन्।
एमालेले संगठन सुदृढीकरणका लागि देशव्यापी ‘पार्टी जागरण अभियान’ सञ्चालन गर्ने निर्णय गरेको छ। अभियानअन्तर्गत केन्द्रीय सदस्य तथा नेताहरूलाई प्रदेश, जिल्ला र स्थानीय तहमा जिम्मेवारी तोकिने भएको छ।
पार्टीले आगामी स्थानीय तह र प्रदेशसभा निर्वाचनलाई लक्षित गर्दै संगठन विस्तार र सदस्यता नवीकरण अभियानलाई तीव्र बनाउने जनाएको छ ।
अभियानका लागि केन्द्रीय नेताहरूलाई विभिन्न जिल्ला र क्षेत्रको जिम्मेवारीसमेत बाँडफाँट गरिएको छ।
अर्कोतिर एमालेले संगठित सदस्यता नवीकरणको काम जेठ मसान्तभित्र सम्पन्न गर्न मातहत कमिटीहरूलाई निर्देशन दिएको छ।
पार्टीले डिजिटल प्रणालीमार्फत सदस्यता नवीकरण तथा नयाँ सदस्यता वितरणको व्यवस्था मिलाएको जनाएको छ।
पार्टी नीति र विधानप्रति प्रतिबद्ध सदस्यहरूको मात्र नवीकरण गरिने एमालेले स्पष्ट पारेको छ। पेशागत क्षेत्रका सदस्यका लागि विशेष व्यवस्था गरिएको पनि अपानिमा उल्लेख छ।