काठमाडौँ । काभा महिला भलिबल प्रतियोगिताको सेमिफाइनलमा नेपाल साविक विजेता इरानसँग पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको छ । बिहीबार राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कर्भडहलमा भएको खेलमा घरेलु टोली नेपाल ३–० को सोझो सेटमा पराजित भयो । इरानले खेलमा सुरुदेखि नै दबाब कायम राख्दै नेपाललाई कुनै सेटमा पनि सहज अवसर दिएन । पहिलो सेटमा केही प्रतिस्पर्धा देखिए पनि इरानले २५–२० ले जित निकाल्यो । नेपालका खेलाडीहरूले सर्भिस र रिसिभमा लगातार गल्ती गर्दा महत्वपूर्ण अंक गुमाउनुपर्यो ।
दोस्रो सेटमा इरान पूर्ण रूपमा हाबी रह्यो । आक्रामक आक्रमण र बलियो डिफेन्स प्रदर्शन गरेको इरानी टोलीले नेपाललाई २५–१५ ले सहजै हराउँदै खेलमा २–० को अग्रता बनायो । लगातार २ सेट गुमाएपछि नेपालमाथि दबाब थपियो । तेस्रो सेटमा नेपालले पुनरागमन गर्ने प्रयास गरे पनि इरानको प्रभावशाली प्रदर्शन अघि टिक्न सकेन । इरानले २५–११ को फराकिलो अन्तरमा सेट जित्दै खेल ३–० ले आफ्नो पक्षमा पार्यो र फाइनल प्रवेश सुनिश्चित गर्यो । घरेलु दर्शकको उत्साहजनक समर्थन भए पनि नेपाली टोलीको प्रदर्शन अपेक्षाअनुसार रहन सकेन ।
यस हारसँगै नेपाल प्रतियोगिताबाट बाहिरिएको छ भने अब तेस्रो स्थानका लागि भारतसँग प्रतिस्पर्धा गर्नेछ । समूह चरणमा नेपाल भारतसँग ३–२ को सेटमा पराजित भएको थियो । भारत भने सेमिफाइनलमा काजकिस्तानसँग ३–० को सोझो सेटमा पराजित भएको हो । फाइनलमा इरानले काजकिस्तानसँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ । बिहीबार भएको पहिलो सेमिफाइनलमा काजकिस्तानले भारतलाई २५–२१, २५–१७ र २५–१४ ले पराजित गर्दै फाइनल स्थान सुरक्षित गरेको हो । यसअघि समूह चरणमा इरानले काजकिस्तानलाई पनि सोझो सेटमा हराएको थियो, जसले फाइनललाई थप प्रतिस्पर्धात्मक बनाउने अपेक्षा गरिएको छ ।