मेदिनीप्रसाद कडरिया पूर्वी नेपालको शैक्षिक एवं सामाजिक क्षेत्रमा क्रियाशील पाका व्यक्तित्व हुन् । उनको झापा एवं मोरङ जिल्लाका विभिन्न विद्यालयहरुमा सेवा गरेको इतिहास पनि छ । वि.सं. २००१ माघ १ गते शुक्रबारका दिन आठराई गाउँपालिका, कोयाखोला, भेटवाल गाउँमा जन्मिएका कडरियाले झापा जिल्लाको फुलबारी नि.मा.वि. चकचकी (२०२२–२०२५), अमर नि.मा.वि. बैगुन्धुरा (२०२५–२०२८), २०२९ मा मोरङ जिल्लाको दाम्राभिट्टा, २०३१ देखि २०३६ सालसम्म इटहरा मा.वि. लगायतका विद्यालयहरुमा शिक्षण गरेको इतिहास छ । हाल रतुवामाई न.पा.–८ दाम्राभिट्टाका स्थायी बासिन्दा कडरियासँग सत्य आवाजका प्रमुख संवाददाता श्यामकृष्ण लम्सालले संक्षिप्त कुराकानी गरेका छन् । प्रस्तुत छ उक्त कुराकानीको सम्पादित अंशः–
हिजोआज के गर्दै हुनुहुन्छ ?
उमेरले पनि ८२ वर्षमा हिँडिँदैछ । पाको पनि भइयो । दाम्राभिट्टा बजारमा इष्टमित्रसँग भेटघाटमै दिनचर्या बित्दैछ ।
तपाईं पहाडबाट झापा, मोरङ आउँदा यहाँको अवस्था कस्तो थियो ?
म वि.सं. २०२१ सालमा धरानस्थित पब्लिक माध्यमिक विद्यालयबाट एस.एल.सी. उत्तीर्ण गरेर झापाको चकचकी फुलबारीमा शिक्षक भएर आउँदा यहाँ बाटाघाटा, पुलपुलेसा, हाटबजारको समुचित विकास भएको थिएन । संक्षेपमा भन्नुपर्दा झापा र मोरङका अहिले ठूला शहर भएका ठाउँ जंगलामुलुक नै थिए । शिक्षा, स्वास्थ्य, यातायातको विकास भएकै थिएन । केही ठूला शहर भद्रपुर, झापाबजार, गौरीगञ्ज, दमक आदि ठाउँमा विद्यालय थिए । अन्यत्र दुःखै थियो ।
तपाईं पुरानो शिक्षक पनि, अहिलेको शिक्षाको स्तर र विकासप्रति कत्तिको सन्तुष्ट हुनुहुन्छ ?
नेपालमा पुरानो शिक्षा खारेज गरी २०२८ सालमा नयाँ शिक्षा नीति लागू गरेपछि नेपालको शिक्षाको स्तर खच्कियो । शैक्षिक संस्थाहरु बेरोजगार उत्पादन गर्ने कारखानाजस्ता भए । परम्परागत ज्ञान, सीपहरु लोप हुँदै गए । खासमा व्यावसायिक शिक्षा र संस्कृत शिक्षाको अभावका कारण नेपालको शिक्षाको स्तर खस्कियो । ४ सय पूर्णाङ्कको व्यावसायिक शिक्षा हटाएपछि त बेरोजगारहरु मात्रै उत्पादन भए ।
यसमा सुधार ल्याउन के गर्नुपर्ला ?
२०२८ सालअघिको जस्तो स्तरीय शिक्षाको पाठ्यक्रम तयार गरी व्यावसायिक, संस्कृत एवं नैतिक शिक्षाको व्यावहारिक प्रयोगमा ल्याउनुपर्छ । आफ्ना ठाउँमा रहेका स्रोत, साधन र प्रविधि एवं प्राकृतिक सम्पदाको उचित सदूपयोग गरी जिविकोपार्जन गर्नसक्ने शिक्षा आवश्यक छ । नैतिकवान् नागरिक उत्पादन गरी पौरखी, स्वावलम्बी, स्वाभिमानी जनताको राष्ट्र बनाउन जरुरी छ । इतिहास, भाषा, कला, संस्कृतिको जगेर्ना गर्नसक्ने शैक्षिक जनशक्तिको अभाव रहेको हुँदा त्यसको अभाव हुन नदिन स्तरीय शैक्षिक पाठ्यक्रम लागू गर्नु जरुरी छ ।
अन्त्यमा
नेपाल विश्वमै सबै कुराले परिपूर्ण देवभूमि हो । दुनियाँमा नभएका धेरै कुरा यहाँ छन् । यहाँँको शिक्षालाई सही ढङ्गले सुधार गर्नसके यो देश विश्वकै उत्कृष्ट नमूना देश बन्ने कुरा पक्का छ । शिक्षा सही भयो भने संसार उज्यालै–उज्यालो देखिन्छ ।