काठमाडौँ । कृषि, वन तथा पर्यावरण मन्त्रालयले किसानलाई वैज्ञानिक आधारमा रासायनिक मल वितरण गर्ने भएको छ । मन्त्रालयले धान खेती गर्ने कृषकलाई रासायनिक मल अभाव हुन नदिन उनीहरूको खेती गर्ने जमिनको क्षेत्रफल तथा उत्पादनको अनुपातमा मल उपलब्ध गराउन लागेको हो । करिब १ लाख ४५ हजार मेट्रिकटन रासायनिक मल मौज्दात रहेको जनाइएको छ ।
धान खेतीलाई दृष्टिगत गरी युरिया र डिएपी गरी ४० हजार मेट्रिकटन मल छिट्टै आयात गरिने प्रकृया अघि बढाइएको मन्त्रालयका सूचना अधिकारी लालकुमार श्रेष्ठले जानकारी दिए । किसानलाई मल बिक्री गर्दा डिपोमार्फत वैज्ञानिक आधारमा वितरण गरिने छ । देशभर गत ३० वैशाखसम्म रासायनिक मल करिब १ लाख ४५ हजार मेट्रिकटन मलको मौज्दात रहेको तथा सडक मार्ग भएर ४ हजार ५८५ मेट्रिकटन मल आउने क्रममा रहेको जनाइएको छ ।
कृषि सामग्री कम्पनी तथा साल्ट ट्रेडिङ कर्पोरेसनका विभिन्न डिपोमा मौज्दात रहेको मल आपूर्तिलाई सहज तथा वितरण व्यवस्थालाई प्रभावकारी बनाउन आधिकारिक डिपोहरूबाट मात्र मल खरिद गर्न कृषकलाई आग्रह गरिएको छ । सरकारले चालु आर्थिक वर्षमा ६ लाख मेट्रिकटन मल ल्याउने लक्ष्य राखेको त्यसका लागि २८ अर्ब ८२ करोड १४ लाख रुपैयाँ विनियोजन गरेको सूचना अधिकारी श्रेष्ठले जानकारी दिए ।
चालु आर्थिक वर्षमा हालसम्म रासायनिक मल ४ लाख ९१ हजार ३०० मेट्रिकटन टेन्डर गरिएको मन्त्रालयले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा रासायनिक मलको उत्पादन लागत वृद्धि भएकाले मलको मूल्य बढेको छ । सरकारले गुणस्तरहीन वा कमसल मलको कारोबार तथा कालोबजारी गर्ने व्यापारीलाई प्रचलित कानुनअनुसार कारबाही गर्ने जनाएको मन्त्रालयले आधिकारिक डिपोबाट गुणस्तर परीक्षण गरेर मात्र मल खरिद गर्न भनेको छ ।