काठमाडौं । नेपाल उद्योग बाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा शुरकृष्ण वैद्य र कोषाध्यक्षमा मनिषलाल प्रधान विजयी भएका छन् । दुवै जना अध्यक्ष अन्जन श्रेष्ठ समूहका हुन् ।
शुक्रबार भएको निर्वाचनमा वैद्यको प्रतिस्पर्धी रामचन्द्र संघई थिए भने प्रधानको प्रतिस्पर्धी अम्बिकाप्रसाद पौडेल थिए । त्यसअघि चन्द्र ढकाल समूहका हेमराज ढकालले संघईलाई समर्थन गरेको भनिए पनि नजितामा भने त्यो देखिएन ।
हालै सम्पन्न महासंघको निर्वाचनबाट अन्जनको नेतृत्वमा नयाँ कार्यकारिणी समिति चयन भएको थियो । सोही समितिका सदस्य र प्रेदश अध्यक्षहरुले वरिष्ठ उपाध्यक्ष र कोषाध्यक्षमा आज मतदान गरेर वैद्य र प्रधानलाई जिताएका हुन् ।
यससँगै अन्जनले महासंघमा आफ्नो बलियो पडक बनाएका छन् भने ढकाल समूह निकै कमजोर देखिएको छ । महासंघमा प्रवलजंग पाण्डेको नेतृत्वमा देखा परेको तेस्रो धारले संघईलाई आज अघि सारेको थियो ।