एजेन्सी । अमेरिका र इरानबीचको तनाव यतिबेला यति बढेको छ कि विश्व फेरि युद्धको डरमा बाँचिरहेको छ । तर, यहीबीच दुवै देशबीच पर्दा पछाडि सम्झौताको प्रयास भइरहेको खबर सार्वजनिक भएपछि शान्तिको सम्भावनाबारे पनि चर्चा सुरु भएको छ । इजरायलको रक्षा गर्दै अमेरिका आफ्नै ठूलो मिसाइल भण्डार खर्चिन बाध्य भएको अवस्थामा अब अमेरिका युद्ध अन्त्यतर्फ जान खोजिरहेको हो कि भन्ने प्रश्न उठ्न थालेको छ। साथै, इरान पनि कुनै ठूलो सहमतिका लागि तयार भइरहेको संकेत देखिन थालेको छ ।
इरानको सरकारी समाचार संस्था आईएसएनएका अनुसार अमेरिका र इरानबीच अप्रत्यक्ष वार्ता जारी छ । सम्भावित सम्झौताका लागि प्रारम्भिक ढाँचा तयार गर्ने उद्देश्यले दुवै पक्षबीच सन्देश तथा मस्यौदा दस्तावेज आदानप्रदान भइरहेको जनाइएको छ ।
यसअघि एक इरानी अधिकारीले अल जजिरासँगको कुराकानीमा वार्ता टोलीहरू सम्झौताको निकै नजिक पुगेको बताएका थिए। रिपोर्टअनुसार हाल उच्चस्तरीय मध्यस्थताको प्रयास तीव्र रूपमा भइरहेको छ । पाकिस्तानका गृहमन्त्री मोहसिन नकवी अहिले इरान भ्रमणमा रहेका छन् र उनले होर्मुज जलडमरूमध्यको अवस्थाबारे छलफल गरिरहेका छन् । यद्यपि, अल जजिराले भने अन्तिम सम्झौता हुन्छ वा हुँदैन भन्ने निष्कर्ष निकाल्न अहिले नै हतार हुने जनाएको छ ।
यसैबीच, अमेरिकाको हतियार भण्डार घट्दै गएको विषयले पनि नयाँ चिन्ता थपेको छ। एएनआईका अनुसार इजरायलको सुरक्षाका लागि ठूलो मात्रामा उन्नत मिसाइल डिफेन्स इन्टरसेप्टर प्रयोग गरेपछि अमेरिकाको मिसाइल भण्डार उल्लेखनीय रूपमा घटेको छ ।
द वासिङ्टन पोस्टका अनुसार अमेरिकाले इजरायलको सुरक्षाका लागि स्वयं इजरायलले भन्दा बढी मिसाइल प्रयोग गरेको छ ।वासिङ्टन पोस्टसँग गोप्य रूपमा कुरा गरेका अमेरिकी अधिकारीहरूले यस्तो असन्तुलनले अमेरिकाको आफ्नै सुरक्षामाथि चिन्ता बढाएको बताएका छन् ।