काठमाडौँ । सरकारले आमसञ्चार क्षेत्रका तीनवटा प्रमुख निकायहरूमा रिक्त नेतृत्व पदका लागि खुला प्रतिस्पर्धाबाट पदपूर्तिको प्रक्रिया अघि बढाएको छ । सूचना तथा सञ्चार मन्त्रालयले प्रेस काउन्सिल नेपालको अध्यक्ष, सार्वजनिक सेवा प्रसारण संस्थाको अध्यक्ष र गोरखापत्र संस्थानको महाप्रबन्धक पदका लागि दरखास्त आह्वान गरेको हाे ।
मन्त्रालयद्वारा बिहीबार जारी सूचना अनुसार योग्यता पुगेका इच्छुक नेपाली नागरिकले तोकिएको अवधिभित्र आवेदन दिन सक्नेछन् । आवेदनका लागि आवश्यक पर्ने शैक्षिक योग्यता, कार्यअनुभव, कार्ययोजना, दरखास्त फाराम तथा संलग्न गर्नुपर्ने आवश्यक कागजातहरूको विस्तृत जानकारी सूचना तथा सञ्चार मन्त्रालयको वेबसाइट www.mocit.gov.np मा उपलब्ध छ ।