मुस्ताङ । मुस्ताङको लोमान्थाङ गाउँपालिका–४ स्थित एक्लेभट्टीबाट ठूलो परिमाणमा अवैध चिनियाँ इलेक्ट्रिक चुरोट (भेप) सहित दुई वटा कन्टेनर सुरक्षा निकायले नियन्त्रणमा लिएको छ । जेठ १ गते राती कोरोला नाका हुँदै काठमाडौंतर्फ आउँदै गरेका ना ६ ख ४७४३ र ना ५ ख ७९२१ नम्बरका कन्टेनरलाई सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट नेचुङ, नेपाल प्रहरी र मुस्ताङ भन्सार कार्यालयको संयुक्त टोलीले नियन्त्रणमा लिएको हो।
उक्त अवैध सामग्री ढुवानीमा संलग्न रहेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा धादिङको धुनीबेशी नगरपालिका–१ का सन्तोष लामा, सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–२ का फुन्चुदोर्जे तामाङ र सोही ठाउँका पासाङ शेर्पा रहेका छन् । सशस्त्र प्रहरी नायब महानिरीक्षक एवं प्रवक्ता विष्णु प्रसाद भट्टका अनुसार कन्टेनरबाट ५ सय ९० कार्टुन भेपका साथै २५९ कार्टुन जुत्ता, ८ बोरा मोजा, १५ बोरा लत्ताकपडा र १५ केजी खाली प्याकिङ बक्स बरामद गरिएको छ ।