श्यामकृष्ण लम्साल
लम्सुवाघाटको बगरमा उभिएर
लम्सुवाघाटको बगरमा उभिएर
चन्द्रसूर्य स्वरुपमा चम्किरहेका
बलि, रामभद्र पाध्येहरुको इतिहास
गौरवमय, पौरखी
जीवन्त इतिहास मुस्कुराइरहेको,
मोतीझैँ टल्किरहेको,
गर्व गर्न लायक इतिहास
आजको हाम्रो पुस्तालाई
कति ज्ञात होला ?
समयको तराजुमा हालेर
इतिहाससँग सोध्नुपर्ने भएको छ
तुर्केदेखि सुर्केसम्मको वीरता र इतिहास
पुर्खाका रगत, पसिनाको मूल्य, मान्यता
आजको हाम्रो पुस्तालाई
कति ज्ञात होला ?
चन्द्रसूर्य अंकित झण्डाको
स्वाभिमानको रक्षा गर्दा आउने आनन्द
बलिपाध्ये, रामभद्रहरुकै
सिर्जना र पुरुषार्थ थिए
माटोका कणकणमा
रगत र पसिनाले सिर्जित
र सिंचित गर्ने शिक्षा
उनै विभूतिहरुको थियो,
स्वाभिमानी, स्वावलम्बी, पौरखी सन्तान
उनीहरुकै सृष्टि र सिर्जना थियो
मकालु हिमालको प्रतिविम्ब बनेर
उच्च शिरको सगर
उनैले ठड्याएका थिए
चेतना, सभ्यता र संस्कृतिको मुहान्
उनैले फुटाएका थिए
त्यसको महत्व हामीले
बुझ्यौँ कि बुझेनौँ ?
चिन्यौँ कि चिनेनौँ ?
इतिहाससँग सोध्नुपर्ने भएको छ
फेरि एकपल्ट लम्सुवाघाटको बगरमा उभिएर ।
दाम्राभिट्टा, मोरङ