काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता तथा निर्माण व्यवसायी विक्रम पाण्डेलाई चार लाख धरौटीमा रिहा गर्न जिल्ला अदालत, काठमाडौंले आदेश दिएको छ ।
बिहीबार जिल्ला अदालत, काठमाडौंका न्यायधीश चुरामन खड्काको एकल इजलासले पाण्डेसँग धरौटी माग गरेको हो । पाण्डे राप्रपाका वरिष्ठ उपाध्यक्ष पनि हुन् ।
उनलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले वैशाख ११ गते पक्राउ गरेको थियो । सार्वजनिक खरिद प्रणाली ह्याक गरेर ठेक्का विवरण हेरफेर गरेको उनलाई आरोप लागेको छ । यस मुद्दामा प्रहरीले २२ जनालाई प्रतिवादी बनाएको छ । जसमध्ये १२ जना पक्राउ परेका थिए ।
जिल्ला अदालतले पाण्डेसहित ११ जनालाई धरौटीमा रिहा गर्न आदेश दिएको हो । अदालतले नुवाकोटका प्रकाश ढुंगानसँग चार लाख, तनहुँका सञ्जय भट्टसँग १० लाख, सुनसरीका जीवनकुमार दाससँग पाँच लाख र काठमाडौंका अमृत बोहोरासँग चार लाख धरौटी माग गरेको हो ।
यस्तै, मकवानपुरका सागर कटुवाललाई पाँच लाख, दोलखाका अनिल श्रेष्ठलाई चार लाख, काठमाडौंका भाष्करराज अर्याललाई १० लाख, धादिङका टंककुमार श्रेष्ठलाई चार लाख, सिराहाका स्वदेश पोखरेललाई चार लाख र काठमाडौंका ऋषिकेश गौलीलाई चार लाख रुपैयाँ धरौटी छोड्न आदेश भएको छ । यस मुद्दामा पक्राउ परेका धनकुटाका दिवाकर देउजालाई भने पुर्पक्षका लागि थुनामा पठाउन आदेश भएको छ ।