काठमाडाैं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका संसदीय दलका उपनेताले प्रतिनिधि सभा बैठकमा बाेलेका शव्दहरू संसदकाे रेकर्डबाट हटाइएकाे छ । सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधि सभाको मंगलबारकाे बैठकमा प्रयोग भएका असंसदीय र आपत्तिजनक शब्दहरू संसद्को अभिलेखबाट हटाउन सचिवालयलाई निर्देशन दिएका हुन् । प्रतिनिधि सभाको बिहीबारको बैठकमा सभामुख अर्यालले प्रतिनिधि सभा नियमावलीको नियम १२१ को खण्ड (घ) बमोजिम सांसदहरूलाई आफ्नो अभिव्यक्तिमा संवेदनशील हुन ध्यानाकर्षण गराए ।
उक्त नियमावलीले बैठकमा बोल्दा अशिष्ट, अश्लील, अपमानजनक वा सार्वजनिक शिष्टाचार र नैतिकताको प्रतिकूल हुने गरी बोल्न निषेध गरेको छ ।
साथै, कुनै पनि व्यक्ति, जाति, धर्म, भाषा वा लिङ्गलाई होच्याउने वा असंसदीय शब्दको प्रयोग गर्न नपाइने प्रावधानबारे पनि सभामुखले स्मरण गराए । सभामुख अर्यालले राष्ट्रिय स्वतन्त्र पार्टीका उपनेता गणेश पराजुलीले प्रयोग गरेका केही शब्दहरू नियमावलीविपरीत रहेको भन्दै हटाउन आदेश दिए ।
सांसद पराजुलीले आफ्नो सम्बोधनका क्रममा प्रयोग गरेको ‘भरौटेहरू’ र ‘यहाँ लुगा लगाएर पनि नाङ्गै हिँडे जस्तो गरी’ भन्ने वाक्यांशहरू संसद्को गरिमाविपरीत रहेको ठहर गर्दै सचिवालयलाई ती शब्दहरू अभिलेखबाट हटाउन निर्देशन दिए ।
नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको कामु सीईओमा ढकाल नियुक्त
काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले कामु प्रमुख कार्यकारी अधिकृतमा महेश शर्मा ढकाललाई नियुक्त गरेको छ । बैंकको सञ्चालक समितिको मिति २०८३ वैशाख ३० गते बसेको बैठक (बैठक नं. ६३९) ले वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत ढकाललाई कामु सीईओको जिम्मेवारी दिने निर्णय गरेको हो ।
बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डे स्मार्ट टेलिकमसम्बन्धी मुद्दाको अनुसन्धानको प्रक्रियामा रहेकाले उनी अनुपस्थित भएको अवस्थामा बैंक सञ्चालन निरन्तरता सुनिश्चित गर्न यस्तो निर्णय गरिएको बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
विज्ञप्तिअनुसार पाण्डे अनुसन्धानको प्रक्रियामा रहेका कारण उनले सम्पादन गर्ने बैंक सञ्चालनसम्बन्धी सम्पूर्ण कार्यका लागि ढकाललाई पूर्ण अख्तियारीसहित कामु सीईओको जिम्मेवारी दिइएको हो ।
बैंकले ढकाललाई कामु प्रमुख कार्यकारी अधिकृतको रूपमा सम्पूर्ण बैंकिङ सञ्चालन सम्हाल्ने जिम्मेवारी प्रदान गरिएको स्पष्ट पारेको छ । यस निर्णयसँगै ढकालले बैंकको दैनिक प्रशासन, नीति कार्यान्वयन तथा सञ्चालन व्यवस्थापनको नेतृत्व गर्नेछन् ।