काठमाडौं । चालु आर्थिक वर्षको नौ महिनामा नेपालमा विप्रेषण आप्रवाह ३९.१ प्रतिशतले वृद्धि भई १६५९ अर्ब ४१ करोड पुगेको छ । नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको तथ्याङ्कअनुसार अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १०.२ प्रतिशतले बढेको थियो । २०८२ चैत महिनामा विप्रेषण आप्रवाह २०९ अर्ब ७५ करोड रहको छ । अघिल्लो वर्षको सोही महिनामा विप्रेषण आप्रवाह १३९ अर्ब ५४ करोड रहेको थियो ।
समीक्षा अवधिमा अमेरिकी डलरमा विप्रेषण आप्रवाह ३१.९ प्रतिशतले वृद्धि भई ११ अर्ब ५५ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ७.५ प्रतिशतले बढेको थियो ।
समीक्षा अवधिमा खुद द्वितीय आय (खुद ट्रान्सफर) १८२० अर्ब ४२ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय १३०३ अर्ब १२ करोड रहेको थियो ।
समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको सङ्ख्या २ लाख ९४ हजार १८६ र पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या २ लाख ९३ हजार २५९ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो सङ्ख्या क्रमशः ३ लाख ५८ हजार २२२ र २ लाख ४९ हजार ६५२ रहेको थियो ।
आर्थिक वर्ष २०८२-८३ को नौ महिनासम्मको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति २१.८ महिनाको वस्तु आयात र १८.४ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ ।
२०८२ चैत मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपातहरू क्रमशः ५७.२ प्रतिशत, १५३.१ प्रतिशत र ४१.२ प्रतिशत रहेका छन् । २०८२ असार मसान्तमा उक्त अनुपातहरू क्रमशः ४३.८ प्रतिशत, १२८.१ प्रतिशत र ३४.१ प्रतिशत रहेका थिए ।