— श्यामकृष्ण लम्साल
कहिले भाउजुको षड्यन्त्रको शिकार
कहिले भाइ–भारदारहरूको
कहिले आफ्नै भतिजाको पनि
तथापि,
उसले कहिल्यै हार मानेको छैन
कुनै पनि युद्ध हारेको छैन
हार्नेगरी युद्ध गर्न जानेको छैन
पूर्वमा टिष्टा र पश्चिममा काँगडा त
उसले बाबुको विडो थामेको न हो
गंगाको मैदानमा चन्द्र–सूर्य अङ्कित झण्डा
उसैको पुरुषार्थले फहराएको न हो !
उसले के नै पो गरेको छ र ?
बाबुको विडो थाम्नु
आमाको दुधको इज्जत राख्नु
कुल खानदान वंश परम्पराको रक्षा गर्नु
पितृको कुल उद्दार गर्नु
पुत्रको कर्तब्य नै त हो नि
उसले के नै पो नापेको छ र ?
त्यसैले नै होला
उ राष्ट्रिय विभूति बनाइएको छैन
उ बडामहाराजाधिराज पृथ्वीनारायण शाको कान्छो छोरो
देशको भूभाग गुमाउनेहरूलाई
राष्ट्रिय विभूति बनाइँदा
देशको भूभाग जोड्नेहरूलाई नहारी लड्नेहरूलाई
बनाउनु पनि त भएन नि !
विध्वंशक महान् बनाइएको यस घडीमा
निर्माताहरूलाई सम्मान गर्नु पनि त भएन नि !
यो समयको माग हो रे !
निर्माण गर्नुभन्दा
ध्वंश पार्नु नै पुण्य कर्म भएको यस क्षणमा
पृथ्वीको कान्छो छोरोलाई
पुज्न पनि त भएन नि !
बालकले सम्राटलाई नाङ्गो भनेझैँ
अहिलेका कुकृत्यहरूको भण्डाफोर गर्ने
हामी जन्मिएका छौँ, कोही ?
दिङ्ला, भोजपुर