झापा। मुलुकको सबैभन्दा होचो भू-भागका रूपमा परिचित झापाको कचनकबलका सिमखेतहरूको गरागरामा टिलपिल पानीमाथि यतिबेला चैते धानका बाला होइन, कमल फूलका जस्तै फराकिला र काँडेदार हरिया पातहरू तैरिइरहेका छन्। यो दृश्य हो- कोशी प्रदेशमै पहिलोपटक व्यावसायिक रूपमा सुरु गरिएको ‘मखना’अर्थात् ‘सेतो सुन’ खेतीको।
कचनकबल गाउँपालिका-४ का ६३ वर्षीय जेलेल मियाको जीवनका धेरै वसन्तहरू यही सिमखेतमा धान रोप्दै र काट्दै बिते तर यसपालि उनले आफ्नो सात बिघा जग्गामा चैते धानखेती गरेनन्। वर्षको प्रतिबिघा ३० मन धान पाउने शर्तमा उनले आफ्नो जग्गा भाडामा दिए।
'वर्षौंदेखि धान र मकैको खेती गर्दै आएको थिएँ', उनी भन्छन्, 'यसपालि मखनाखेती गर्छु भन्दै आउनेलाई जग्गा दिएँ। नयाँ खेती अरे, हेरौँ कस्तो हुँदोरहेछ।' जेलेल मात्र होइन, सोही वडाका बाहिल आलमले पनि आफ्नो १५ कट्ठा जग्गा झापा गाउँपालिका-४ का शाहिल शेखलाई मखनाखेतीका लागि भाडामा दिएका छन्।
स्थानीय किसानहरूका लागि यो एक प्रकारको प्रयोग हो भने व्यवसायीका लागि ठूलो सम्भावनाको ढोका। मखनाखेती यहाँका बासिन्दाका लागि नौलो भएकाले सबैलाई यसको सम्भावनाबारे कौतुहलता छ। विर्तामोडका जनक खड्काले त झन आफ्नो २० बिघा जग्गा यही मखनाखेतीका लागि दिएका छन्। यसरी धेरै किसानबाट भाडामा लिइएको १०० बिघा जमिनमा अहिले मखनाकोखेती विस्तार भइसकेको छ।
कचनकबलमा मखनाखेती भित्र्याउने श्रेय शाहिल शेखलाई जान्छ। उनले भारतको पूर्णियामा रहेका आफ्ना नातेदारसँग साझेदारी गरेर कचनकबलमा यो नौलो कृषि व्यवसायको थालनी गरेका हुन्। नेपालमा मखनाको व्यावसायिक खेतीको इतिहास खासै नभएका बेला शेखले १०० बिघाभन्दा बढी जग्गा भाडामा लिएर ठूलो लगानी गरेका छन्।
दुई महिनाअघिदेखि रोप्न सुरु गरिएको मखना अहिले खेतका गराहरूमा कतै वयस्क हुँदैछ भने कतै भर्खर पात पलाउँदैछ। डिप बोरिङ गरेर खेतमा निरन्तर सिँचाइको व्यवस्था गरिएको छ, किनकि मखनालाई गरामा निरन्तर भरिएको पानी चाहिन्छ।
शेखका अनुसार भारतमा मखना प्रतिकिलो एक हजार रुपैयाँभन्दा बढीमा बिक्री हुन्छ। एक बिघा जमिनमा झण्डै १०० केजी मखना उत्पादन हुने उनको अनुमान छ। यदि यो अनुमान सही ठहरियो भने कचनकबलको सिमखेतले धानको तुलनामा कयौँ गुणा बढी आर्थिक लाभ दिने निश्चित छ।
मखना, जसलाई अङ्ग्रेजीमा ‘फक्स नट’ वा ‘लोटस सिड’ पनि भनिन्छ। यो एक प्रकारको जलीय बिरुवा हो। कमलको फूलजस्तै देखिने यसको बोटमा काँडेदार पातहरू हुन्छन् र यसको दानादार फल पानीमुनि फल्छ। स्वास्थ्यको दृष्टिकोणले मखनालाई ‘सुपरफुड’ मानिन्छ।
सेतो दाना हुने र बजार भाउ उच्च भएकाले यसलाई ‘सेतो सुन’ भनिएको हो। धानखेतीमा जस्तै माटो हिल्याएर मखनाको बीउ र बिरुवा रोप्ने कार्य गरिन्छ। पानी सुक्यो भने मखनाको बोट र पातहरुमा असर पर्ने भएकाले खेती गरिएको मिसखेतमा वैकल्पिक सिँचाइको भरपर्दो व्यवस्था मिलाइएको हुन्छ।
यसमा प्रोटिन, फाइबर, पोटासियम र म्याग्नेसियम प्रचुर मात्रामा पाइन्छ। मधुमेह, मुटुसम्बन्धी समस्या भएका र तौल घटाउन चाहनेहरूका लागि यो अमृत समान मानिन्छ। यसमा कोलस्टोरलको मात्रा शून्य हुन्छ। नेपालमा हाल मखना पूर्ण रूपमा भारतबाट आयात हुन्छ। भुटेर बनाइने ‘मखना फूल’ खाजाका रूपमा र पूजाआजामा प्रसादका रूपमा निकै लोकप्रिय छ।
मखनाखेतीले जग्गाधनीलाई मात्र होइन, स्थानीय मजदुरहरूलाई पनि नयाँ रोजगारी दिएको छ। काँडेदार पातका बीचबाट पानीमुनि फल्ने दाना टिप्नु, रोप्नु र गोडमेल गर्नु चुनौतीपूर्ण काम हो। यसका लागि भारतबाट दक्ष प्राविधिकहरू ल्याइएका छन् भने उनीहरूलाई सघाउन स्थानीयले पनि काम पाएका छन्। स्थानीय मजदूरले दैनिक ६०० देखि ९०० रुपैयाँसम्म पारिश्रमिक पाइरहेका छन्, जसले गाउँको अर्थतन्त्रलाई थप चलायमान बनाएको छ।
स्थानीय ५९ वर्षीय राहिबुद्दिन मियाँ यस खेतीलाई कौतुहलका साथ नियालिरहेको बताउँछन्। 'भारतबाट बीउ र प्राविधिक आएका छन्', उनी भन्छन्, 'राम्रो फाइदा हुने देखियो भने अर्को वर्षदेखि हामी आफैँ पनि यो खेती गर्न सिक्नेछौँ।' कुनै पनि नयाँ सुरुआत जोखिममुक्त हुँदैन। जेलेल मियाँले धानखेती गर्दा प्रतिबिघा ७० देखि १०० मनसम्म उत्पादन हुने गरेको थियो। मखनाका लागि लिइएको भाडा दर त्यो तुलनामा कम भए पनि जोखिम मोलेको बताउँदै मियाँ भन्छन्, 'खेती कस्तो हुने हो भन्ने यकिन नभएकाले अहिले सस्तोमै जग्गा दिएका हौँ।'
आगामी दुई महिनापछि मखनाले फल दिन थाल्नेछ। अहिले फूल फुल्ने मौसम हो। यदि यो खेतीको परीक्षण सफल भयो भने कचनकबलको सिमखेतमा मात्र होइन, नेपालका अन्य तराईका जिल्लामा पनि मखनाखेतीको लहर चल्नेछ।
बर्खामा जलमग्न भएर खेती कठिनाइ व्यहोर्दै आएका कचनकबलका किसानहरु मखनाखेतीप्रति आकिर्षत हुँदैछन्। तराई क्षेत्रका सिमखेत मात्र होइन, सदाबहार पानी रहने प्राकृतिक र कृत्रिम पोखरीहरुमा समेत मखनाखेतीको राम्रो सम्भावना छ। सप्तरी, धनुषा र महोत्तरीलगायतका मधेस प्रदेशका जिल्लामा यसको सानो आकारमा खेती गरिएको पाइएको छ।
मखनाखेती गरिएको जग्गामा अटुट रुपमा पानी जम्ने हुनाले माछापालन गरेर दोहोरो लाभ लिन सकिने जानकारहरु बताउँछन्। माछाको मलले मखनालाई उर्बर बनाउने र मखनाको पातले माछालाई सुरक्षा प्रदान गर्ने कचनकबलका मखनाखेती सञ्चालक शाहिल शेख बताउँछन्। झापा र मोरङसँग सीमा जोडिएको भारतको विहार प्रदेश विश्वकै मखनाखेतीको प्रमुख उत्पादक हो।
विश्व बजारमा विहारको मखनाले ९० प्रतिशत स्थान ओगटिरहेको जनाइएको छ। विहारको उत्पादन प्रविधि, जनशक्ति र अनुभव नेपालको तराई क्षेत्रका लागि उपयोगी नमूना हुने देखिन्छ।
विहारको मधुवनी, दरभंगा, कटिहार, पूर्णिया, सहरसा र सीतामणि मखनाखेतीको पकेट क्षेत्र मानिन्छन्। झापाको कचनकबलमा मखनाखेती गर्न पूर्णियाबाटै लगानी साझेदार आएका हुन्। भारत सरकारले गत वर्ष मखनाखेतीलाई अनुदान दिन र प्रोत्साहित गर्न ‘मखना बोर्ड’ गठन गरेको छ।
महँगो मूल्यमा बिक्री हुने र धानको तुलनामा बढी आम्दानी हुने भएकाले निकट भविष्यमा झापाको कचनकबल गाउँपालिका क्षेत्रलाई मखनाखेतीको पकेट क्षेत्र विकास गरेर लैजान सकिने सम्भावना छ। यसका लागि स्थानीय सरकारले पनि सरोकार बढाउनुपर्ने शेख बताउँछन्।
कचनकबल गाउँपालिकाका उपाध्यक्ष नवराज भट्टराई यस नवीन कृषि प्रयासलाई सकारात्मक रूपमा लिनुहुन्छ। 'यो हाम्रा लागि एउटा नमूना खेती हो, यसबाट किसानले कति वास्तविक फाइदा पाउँछन् भन्ने कुरा हेर्नुछ', उपाध्यक्ष भट्टराई भन्छन्, 'बाली पाकेपछि मात्र थाहा हुन्छ। यदि यो खेती सफल भयो भने पालिकाले किसानहरूलाई मखनाखेतीतर्फ आकर्षित गर्न विशेष प्रोत्साहनका कार्यक्रमहरू ल्याउनेछ।'
कचनकबल स्तम्भ रहेको नेपालकै होचो भूभाग अवलोकन गर्न बर्सेनि हजारौँ आन्तरिक तथा बाह्य पर्यटक कचनकबलमा आउने गरेका छन्। कचनकबल स्तम्भ नजिकै रहेको मखनखेतीले समेत पर्यटक आकर्षित गर्ने सम्भावना देखिएको उपाध्यक्ष भट्टराई बताउँछन्। उनले मखनाखेतीमा लागिरहेका व्यवसायीहरुसँग सम्पर्क र संवाद गरेर खेतीको सम्भावनाबारेमा जानकारी लिने कार्य भइरहेको बताए।
नेपालले वार्षिक करोडौँको मखना भारतबाट आयात गर्दै आएको छ। कचनकबलमा सुरु भएको यो जमर्कोले मुलुकलाई मखनामा आत्मनिर्भर बनाउने नयाँ बाटो अवश्य देखाउनेछ।
धानको विकल्पमा उच्च मूल्य दिने खेतीका रूपमा मखनाले कचनकबलका किसानको जीवनस्तर उकास्ने अपेक्षा गरिएको छ। सिमखेतको टिलपिल पानीमा तैरिइरहेका ती ठूला हरिया पातहरू एउटा बिरुवा मात्र होइनन्, ती त झापाका किसानका सपना हुन्। जसले भोलिका दिनमा ‘सेतो सुन’ फलाएर गाउँकै अनुहार बदल्ने अठोट बोकेका छन्। रासस