काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले यस मनसुनमा नेपालमा सरदरभन्दा कम वर्षा हुने र तापक्रम बढ्ने प्रक्षेपण गरेको छ । शुक्रबार विभागले राष्ट्रिय मनसुन फोरम कार्यक्रममार्फत उक्त प्रक्षेपण सार्वजनिक गरेको हो । मनसुनको ऋतुगत अवस्थाबारे प्रस्तुतीकरण दिँदै जल तथा मौसम विज्ञान विभागका मौसमविद् सुदर्शन हुमागाईंले आगामी मनसुन ऋतुमा देशका अधिकांश स्थानमा सरदरभन्दा कम वर्षा हुने सम्भावना रहेको बताए । उनले आगामी १८ जेठदेखि १४ असोजसम्म रहने मनसुनमा अधिकांश भूभागमा सरदरभन्दा कम वर्षा हुने तथा अधिकतम र न्यूनतम तापक्रम भने देशभर सरदरभन्दा बढी रहने सम्भावना रहेको जानकारी दिए । उनका अनुसार विभागले विश्व मौसम संगठनअन्तर्गत विश्व तथा क्षेत्रीय जलवायु सूचना उत्पादन केन्द्रहरूको हावापानी प्रारूप, दक्षिण एसियाली जलवायु दृष्टिकोण मञ्च (सास्कोफ)लगायतका अन्तर्राष्ट्रिय जलवायु मोडेलहरूको विश्लेषणका आधारमा मनसुनको ऋतुगत आकलन तयार गरेको हो ।
आकलनका आधारहरूमा पूर्वी प्रशान्त महासागरमा विकसित हुने एल–निनो साउदर्न ओस्सिलेसन (इएनएसओ), हिन्द महासागरमा विकसित हुने इन्डियन ओसन डाइपोल (आइओडी), युरोप तथा एसियामा हिउँद र प्रिमनसुन अवधिमा परेको हिमपात तथा अन्तरऋतु परिवर्तनशीलताका कारकलाई समेतलाई राखिएको विभागले जनाएको छ । हाल प्रशान्त महासागरमा इएनएसओ तटस्थ अवस्थामा रहे पनि एल–निनोतर्फ उन्मुख रहेको तथा हिन्द महासागरमा विकसित हुने आइओडी पनि अहिले तटस्थ अवस्थामा रहेको हुमागाईंले बताए । उनका अनुसार आगामी मनसुनको अन्त्यसम्ममा आइओडी सकारात्मक अवस्थामा पुग्ने सम्भावना विभिन्न विश्वव्यापी जलवायु मोडेलहरूले देखाएका छन् । यद्यपि, ऋतुगत जलवायु समुद्री तथा वायुमण्डलीय प्रणाली, भूउपयोगलगायत विविध कारकमा निर्भर रहने भएकाले जलवायु प्रारूपहरूलाई शतप्रतिशत विश्वसनीय मान्न कठिन हुने उनले स्पष्ट पारे ।
विभागका अनुसार यस वर्ष कर्णाली प्रदेशका दक्षिणी भूभाग, लुम्बिनी प्रदेशका अधिकांश क्षेत्र, मधेस प्रदेशका पूर्वी भूभाग तथा कोसी प्रदेशका दक्षिणी क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने सम्भावना ५५ देखि ६५ प्रतिशत रहेको छ । त्यस्तै, सुदूरपश्चिम प्रदेशका अधिकांश भूभाग, मधेस प्रदेशका पश्चिमी भूभाग तथा कोसी प्रदेशका मध्य भूभागमा सरदरभन्दा बढी वर्षा हुने सम्भावना ४५ देखि ५५ प्रतिशत रहेको विभागले जनाएको छ । कर्णाली र कोसी प्रदेशका उत्तरी भूभागमा भने सरदर वर्षा हुने सम्भावना ३५ देखि ४५ प्रतिशत रहेको बताइएको छ । बाँकी अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षाको सम्भावना ३५ देखि ४५ प्रतिशत रहेको विभागको आकलन छ । साथै सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी, बागमती, मधेस र कोसी प्रदेशका विभिन्न भूभागमा सरदरभन्दा बढी तापक्रम रहने सम्भावना ५५ देखि ६५ प्रतिशत रहेको विभागले जनाएको छ ।
त्यस्तै, देशभर सरदरभन्दा न्यूनतम तापक्रम बढ्ने विभागको निष्कर्ष छ । विशेषगरी सुदूरपश्चिम, कर्णाली, बागमती, मधेस र कोसी प्रदेशका केही क्षेत्रमा न्यूनतम तापक्रम सरदरभन्दा बढी रहने सम्भावना ५५ देखि ६५ प्रतिशतसम्म रहेको बताइएको छ । विभागअन्तर्गत हावापानी विश्लेषण शाखाका इन्जार्ज सुजन सुवेदीले मनसुन नेपालको सबैभन्दा संवेदनशील मौसम प्रणाली भएको उल्लेख गर्दै वार्षिक वर्षाको करिब ८० प्रतिशत हिस्सा मनसुन अवधिमै हुने बताए । उनका अनुसार गत वर्ष मनसुन औसतभन्दा १५ दिनअगाडि नेपाल प्रवेश गरेको थियो भने बहिर्गमन ८ दिन ढिला भएको थियो । दीर्घकालीन प्रवृत्ति हेर्दा मनसुन चाँडै सुरु हुने र ढिलो सकिने क्रम देखिएको उनले बताए ।
नेपालमा क्षेत्रीय तहमा मनसुन पूर्वानुमान चुनौतीपूर्ण रहेको स्वीकार्दै सुवेदीले मौसम तथा जलवायु अध्ययनमा स्थानीय भूगोल, वर्षाको वितरण र दीर्घकालीन तथ्यांकको महत्व अत्यधिक रहने तथा वैज्ञानिक पूर्वानुमानलाई अझ प्रभावकारी बनाउन निरन्तर अध्ययन र सुधार आवश्यक रहेको बताए । जलवायु तथा विपद् व्यवस्थापनविद् डा.धर्मराज उप्रेतीले सुपर एल निनोले दक्षिणी एसियाली देशमा आउने मनसुनी अवधिमा औसतभन्दा कम वर्षा तथा औसतभन्दा बढी गर्मीको सम्भावना देखाएको छ ।
मौसम सेवा थप विश्वसनीय बनाउनुपर्ने
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव सरिता दवाडीले जलवायु परिवर्तनको बढ्दो प्रभावसँगै जल तथा मौसमसम्बन्धी अध्ययन, अनुसन्धान र पूर्वानुमान सेवालाई अझ प्रभावकारी बनाउनुपर्ने बताइन् । पछिल्लो समय जलवायुजन्य प्रभावका कारण वन, जलस्रोत तथा पर्यावरण क्षेत्रमा गम्भीर असर देखिन थालेको उल्लेख गर्दै यससम्बन्धी अनुसन्धान अत्यन्त संवेदनशील र महत्वपूर्ण विषय बनेको दवाडीले बताइन् । उनले केही वर्षयता जल तथा मौसम सेवाको पहुँच द्रुतगतिमा विस्तार हुँदै गएको र सेवाप्रति आमनागरिकको विश्वास पनि बढ्दै गएको उल्लेख गरे । ‘विपद् जोखिम न्यूनीकरण र जनधनको सुरक्षा गर्न मौसम पूर्वानुमान सेवा अत्यन्त महत्वपूर्ण बनेको छ’, उनले भनिन् ।
सचिव दवाडीले आधुनिक प्रविधिको प्रयोगमार्फत जल तथा मौसम पूर्वानुमान प्रणालीलाई थप सुदृढ बनाउने काम भइरहेको जानकारी दिइन् । विभागले ७ दिनसम्मको वर्षा पूर्वानुमानलाई अझ प्रभावकारी बनाउने लक्ष्यका साथ काम गरिरहेको उनको भनाइ थियो । उनले दुर्गम तथा जोखिमयुक्त स्थानसम्म मौसम सेवा विस्तार गर्नुपर्ने आवश्यकता औँल्याउँदै स्थानीय तहसम्म विश्वसनीय सूचना पु¥याउन आग्रह गरे । ‘मौसम तथा जलवायु सेवाले आमनागरिकको जीवन, कृषि, जलस्रोत व्यवस्थापन र विपद् न्यूनीकरणमा प्रत्यक्ष प्रभाव पार्ने भएकाले यसलाई अझ विश्वासिलो बनाउन आवश्यक छ’, उनले भने ।
जलवायु परिवर्तनका कारण जोखिम र विपद्का घटना तीव्र बनरहेको सन्दर्भमा नेपाल सरकारले जलवायु परिवर्तन अनुकूलन तथा मौसम सेवाको सुदृढीकरणलाई प्राथमिकतामा राखेको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार जलवायु तथा मौसम विज्ञानसम्बन्धी संस्थागत संरचना सुदृढ गर्न मन्त्रालयले विभिन्न नीतिगत तथा प्राविधिक पहल अघि बढाइरहेको छ । विभागमा जनशक्ति व्यवस्थापन, प्राविधिक क्षमता अभिवृद्धि तथा आधुनिक उपकरण विस्तारका काम भइरहेको र जलवायु परिवर्तनका कारण हिमताल विस्फोट, अतिवृष्टि, बाढी तथा पहिरोजस्ता विपद्का जोखिम बढिरहेकाले पूर्वतयारी, पूर्वानुमान र सूचना प्रणालीलाई अझ मजबुत बनाउनुपर्ने मन्त्रालयले उल्लेख गरेको छ ।