काठमाडौँ । वैदेशिक रोजगारीमा पठाउने म्यानपावर कम्पनीहरूले प्रवेशाज्ञा, सेवा शुल्क तथा प्रवर्द्धन खर्चका नाममा तोकिएभन्दा बढी रकम असुल गरे कडा कारबाही हुने व्यवस्था गरिएको छ । केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विद्येयकले वैदेशिक रोजगार ऐन २०६४ मा संशोधन गर्दै यस्तो व्यवस्था गरेको हो ।
यस अनुसार अब निःशुल्क प्राप्त हुने प्रवेशाज्ञाका लागि समेत शुल्क लिएको पाइएमा वा निर्धारितभन्दा बढी रकम उठाएको पुष्टि भएमा त्यस्तो रकम सम्बन्धित पीडित कामदारलाई फिर्ता गराइने भएको छ । साथै, यसमा संलग्न म्यानपावर व्यवसायीलाई पीडित कामदारको संख्याका आधारमा प्रति व्यक्ति ५० हजार रूपैयाँका दरले जरिवाना गरिने भएको छ ।
यो व्यवस्थाको गम्भीर उल्लंघन भएको अवस्थामा सम्बन्धित कम्पनीको इजाजतपत्रसमेत रद्द गर्न सकिने गरि थप कडाइ गरिएको छ । सरकारले वैदेशिक रोजगारी क्षेत्रमा देखिँदै आएको शुल्क अनियमितता र कामदार ठगी नियन्त्रण गर्न यस्तो व्यवस्था लागु गरेको हो ।