काठमाडौँ । स्मार्ट टेलिकमका तत्कालीन प्रबन्ध निर्देशक सर्बेश जोशी पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले जोशीलाई सोमबार काठमाडौँ-२ स्थित खुर्सानीटारस्थित उनकै घरबाट पक्राउ गरेको हो ।
ठगी र आपराधिक विश्वाघातको अभियोगमा जिल्ला अदालत काठमाडौँबाट अनुमति लिएर उनलाई पक्राउ गरिएको सीआईबीले जनाएको छ। नेपाल दूरसञ्चार प्राधिकरणबाट आधारभूत टेलिफोन सेवा सञ्चालन गर्न स्मार्ट टेलिकमले २०७० वैशाखमा अनुमति पाएको थियो । तर अनुमतिपत्र नवीकरण नगरेपछि स्मार्ट टेलिकमको लाइसेन्स स्वतः रद्द भएको थियो ।
यसपछि टेलिकमको सम्पूर्ण सम्पत्ति, दूरसञ्चार पूर्वाधार, संरचना, दूरसञ्चार प्रणाली र सञ्जाल स्वतः प्राधिकरणको स्वामित्वमा जानु पर्ने थियो । लाइसेन्स खारेजीपछि स्मार्ट टेलिकमको व्यवस्थापनका लागि सरकारले नियमावली नै बनाएर प्राधिकरणमार्फत नियन्त्रणमा लिने प्रक्रिया अघि बढाएको थियो ।
जोशीले सरकारको भएका ती सम्पत्ति बेइमानीपूर्वक सरकारको हक टुटाउन काम गराएको तथा ठगी आपराधिक विश्वासघात गरेको आरोप सीआईबीले लगाएको छ ।