भक्तपुुर । भक्तपुरस्थित सूर्यविनायक नगरपालिका अन्तर्गत नगर खेलकुद विकास समितिको आयोजनामा ‘सूर्यविनायक मेयर कप जिल्ला स्तरीय फुट्सल प्रतियोगिता २०८२’ आगामी वैशाख २४ देखि २६ गतेसम्म सञ्चालन हुने भएको छ ।
आयोजक समितिका अनुसार प्रतियोगिता जिल्लास्तरीय हुने र भक्तपुरभित्रका विभिन्न क्लब, संघसंस्था तथा टिमहरूलाई सहभागिताका लागि आह्वान गरिएको छ। इच्छुक टिमहरूले तोकिएको मितिभित्र निःशुल्क आवेदन फाराम भरी नगर खेलकुद विकास समितिको कार्यालयमा बुझाउनुपर्नेछ ।
प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने टिमहरूलाई आकर्षक नगद पुरस्कार प्रदान गरिनेछ। प्रथम, द्वितीय, तृतीय तथा सान्त्वना स्थान हासिल गर्ने टिमलाई क्रमशः नगदसहित सम्मान गरिने आयोजकले जनाएको छ। साथै उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलरक्षक र सर्वाधिक गोलकर्ता खेलाडीलाई समेत विशेष पुरस्कार प्रदान गरिनेछ।
प्रतियोगितासम्बन्धी थप जानकारीका लागि आयोजक समितिले सम्पर्क नम्बरहरू समेत उपलब्ध गराएको छ । आयोजक समितिका सदस्य सचिव दीपक थापाका अनुसार प्रतियोगिता स्थानीय खेल प्रतिभा उजागर गर्ने उद्देश्यले आयोजना गरिएको हो ।