काठमाडौँ । सरकारले माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा वैशाख अन्तिम सातासम्म प्रकाशन गर्ने तयारी अघि बढाएको छ । राष्ट्रिय परीक्षा बोर्डका सदस्यसचिव जङ्गबहादुर अर्यालका अनुसार एसइईको उत्तरपुस्तिका परीक्षण सकेर अहिले परीक्षार्थीको प्राप्ताङ्क कम्प्युटरमा प्रविष्ट गर्ने काम भइरहेको छ ।
यही वैशाखको चौथो सातासम्ममा एसईई नतिजा प्रकाशन गर्ने योजनाअनुसार द्रुत गतिमा काम भइरहेको अर्यालले जानकारी दिए । अर्यालका अनुसार परीक्षार्थीको प्राप्ताङ्क कम्प्युटरमा प्रविष्ट गर्ने काम एक दुई दिनमा सकेर त्यसलाई रुजु गरिने छ । रुजु गर्दा पनि कुनै प्राविधिक समस्या देखिएन भने नतिजा प्रकाशनको प्रक्रियामा जाने छ ।
गएको चैत १९ गतेदेखि सुरु भएको एसइई परीक्षा गत चैत २९ गते सकिएको थियो । यस वर्ष ५ लाख १२ हजार ४२१ जनाले एसईई दिएका छन्। नियमिततर्फ ४ लाख ४१ हजार ५६६ र ग्रेड वृद्धितर्फ ७० हजार ८५५ जनाले यस वर्ष एसईई दिएका हुन् ।