काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले आफ्नो सहायक कम्पनी सीडीएस एण्ड क्लियरिङ लिमिटेड (सीडीएससी) की कार्यकारी प्रमुख प्रवीण पन्दाकलाई सीडीएससीको संचालकबाट हटाएको छ। नेप्से सञ्चालक समितिको पछिल्लो बैठकले पन्दकलाई सीडीएससीको जिम्मेवारीबाट मुक्त गर्दै पुनः माउ संस्था नेप्सेमै फिर्ता बोलाउने निर्णय गरेको हो।
नेप्सेको लगानी रहेको सीडीएससीमा पन्दाक सदस्यका रूपमा प्रतिनिधित्व गर्दै आएकी थिइन् भने सञ्चालक समितिमा नेप्सेकै तर्फबाट चुडामणि चापागाईं अध्यक्ष छन्। अन्य सदस्यमा अर्थ मन्त्रालयका प्रतिनिधि तथा स्वतन्त्र सञ्चालकसमेत रहेका छन्।
अब नेप्सेले पन्दाकको स्थानमा नयाँ प्रतिनिधि पठाउने तयारी गरेको छ। पन्दाकले गत वर्षदेखि सीडीएससीको प्रबन्ध सञ्चालक (कार्यकारी प्रमुख) को जिम्मेवारीसमेत सम्हाल्दै आएकी थिइन्। सीडीएससीमा प्रमुख कार्यकारी अधिकृत (सीईओ) पद रिक्त रहेकाले अन्तरिम रूपमा पन्दकलाई जिम्मेवारी दिइएको थियो। तर उनको नियुक्ति सुरुदेखि नै विवादमा पर्दै आएको थियो।
२०८१ भदौ ७ गते तत्कालीन सीईओ पूर्णप्रसाद आचार्यको कार्यकाल सकिएपछि पद खाली भएको थियो। त्यसपछि २०८१ पुस १४ गते बसेको सीडीएससी सञ्चालक समितिको बैठकले पन्दकलाई कार्यकारी प्रमुखमा नियुक्त गरेको थियो।