काठमाडौ । ‘अभिभावक शिक्षा आजको आवश्यकता’ भन्ने मूल नाराका साथ हाम्रो बालापन नेपालका अध्यक्ष मथुरा थापाद्वारा लिखित ‘कोमल अभिभावकत्व’ पुस्तक विमोचन तथा सम्मान कार्यक्रम काठमाडौँमा सम्पन्न भएको छ । कार्यक्रममा अभिभावक, शिक्षाविद्, मनोविद् तथा विभिन्न सामाजिक क्षेत्रमा सक्रिय व्यक्तिहरूको उपस्थिति रहेको थियो ।
कार्यक्रममा मथुरा थापाद्वारा लिखित ‘कोमल अभिभावकत्व’ पुस्तक कार्यक्रममा प्रमुख अथिति तथा प्रतिनिधिसभा सदस्य डा. धनञ्जय रेग्मीद्वारा औपचारिक रूपमा विमोचन गरिएको हो ।उक्त पुस्तकमा बालबालिकालाई माया, ममता, स्नेह र सकारात्मक व्यवहारमार्फत कसरी हुर्काउन सकिन्छ भन्ने विषयलाई व्यावहारिक र अनुभवजन्य ढंगले प्रस्तुत गरिएको जनाइएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता एवं प्रतिनिधि सभा सदस्य डा. धनन्जय रेग्मीले बालबालिकाको मानसिक स्वास्थ्यप्रति सचेत रहन अभिभावकलाई आग्रह गरे । उनले सामान्य किसिमको तनावले समेत बालबालिकाको मानसपटलमा गम्भीर असर पार्न सक्ने उल्लेख गर्दै अभिभावकले उनीहरूप्रति सधैं माया, ममता र स्नेह देखाउनु अत्यावश्यक रहेको बताए ।
‘बालबालिकाहरू कोमल मनका हुन्छन्, उनीहरूको क्षमता विकासका लागि सकारात्मक वातावरण सिर्जना गर्नु र सिकाउने जिम्मेवारी अभिभावकको हो,’ उनले भने ।
कार्यक्रममा मनोविद् डा गङ्गा पाठकले बालबालिकाको भावनात्मक विकासमा अभिभावकको व्यवहार निर्णायक हुने धारणा राखे । उनले बालबालिकालाई डर, दबाब वा कठोर व्यवहारभन्दा पनि समझदारी, सहानुभूति र संवादमार्फत मार्गदर्शन गर्नुपर्नेमा जोड दिए ।
त्यसैगरी साहित्यकार डा बिदुर चालिसेले पुस्तकले अभिभावकलाई बालबालिकासँग व्यवहार गर्ने सही तरिका सिकाउने विश्वास व्यक्त गर्दै यसलाई सबै अभिभावकका लागि उपयोगी कृति भएको बताए ।
कार्यक्रममा नेपाल पत्रकार महासङ्घका उपाध्यक्ष उमिदप्रसाद बागचन्द, नेपाल प्रेस काउन्सिलका सदस्य शान्तराम बिडारी, नेपाल पत्रकार महासंघका अध्यक्ष शोभा अर्याल, प्याब्सन ललितपुरका अध्यक्ष अर्जुन महर्जन लगायतले असल र कुशल अभिभावक बन्नका लागि यो पुस्तक अति नै उपयोगी भएको भन्दै शुभकामना व्यक्त गरे ।
पुस्तककी लेखिका मथुरा थापाले आफूले बालबालिकाको क्षेत्रमा लामो समयदेखि काम गर्दै आएको अनुभवलाई पुस्तकमा समेटेको जानकारी दिइन् ।
देशका विभिन्न स्थानमा भ्रमणका क्रममा बालबालिका र अभिभावकबीच देखिएका व्यवहारिक समस्या, चुनौती र समाधानका उपायहरूलाई समावेश गरिएको उनको भनाइ थियो ।‘बालबालिकालाई गर्ने व्यवहार, उनीहरूलाई रिझाउने र सिकाउने तरिका यस पुस्तकमा समेटिएको छ, जसले अभिभावक र बालबालिकाबीचको सम्बन्ध अझ सुदृढ बनाउनेछ,’ उनले भनिन् ।
लेखक थापाले बाल मनोविज्ञान, अभिभावकको भूमिका, बालबालिकाको भावनात्मक विकास तथा उनीहरूसँग गरिने व्यवहारका विभिन्न पक्षलाई सरल भाषामा व्याख्या गरिन् । आयोजक संस्थाले यस्ता कार्यक्रममार्फत अभिभावक शिक्षा र बाल अधिकारप्रति जनचेतना अभिवृद्धि गर्ने उद्देश्य राखेको जनाएको छ।
उक्त कार्यक्रमले अभिभावकत्वको बदलिँदो स्वरूप, बालबालिकाको मानसिक तथा भावनात्मक विकासमा आवश्यक संवेदनशीलता र सकारात्मक सोचको महत्वलाई उजागर गरेको सहभागीहरूको भनाइ थियो ।
‘कोमल अभिभावकत्व’ पुस्तकले अभिभावकलाई व्यवहारिक मार्गदर्शन प्रदान गर्दै बालमैत्री समाज निर्माणमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास लिइएको छ। कार्यक्रममा समाजसेवा, पत्रकारिता र शैक्षिक क्षेत्रमा योगदान पु¥याउनुहुने व्यक्तित्वहरु समेत सम्मानित हुनुभएको छ । बाल मनोविद डा. गंगा पाठक, राससका पत्रकार प्रकाश सिलवाल, समाजसेवी तथा फोटा पत्रकार पासाङकाजी शेर्पा लगायतका व्यक्तित्वहरु लाई हाम्रो बालापान नेपालले सम्मान गरेको हो ।