काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्का दुवै सदनको अधिवेशन आह्वान गरेका छन् । उनले संघीय संसद्का दुवै सदनको बजेट अधिवेशन आगामी १७ वैशाखमा दिउँसो २ बजे बस्ने गरी आह्वान गरेका हुन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले संघीय संसद्को अधिवेशन आह्वानका लागि सिफारिस गर्ने निर्णय गरेको थियो । आगामी अधिवेशन नयाँ प्रतिनिधिसभाको दोस्रो अधिवेशन हुनेछ भने राष्ट्रियसभाको २१औँ अधिवेशन हुनेछ ।
१५ जेठमा सरकारले आगामी आर्थिक वर्षको बजेट संसद्मा पेस गर्नुपर्ने हुनाले यस अधिवेशनलाई बजेट अधिवेशन पनि भनिन्छ । विगतको अभ्यास हेर्दा सामान्यतया यस अधिवेशनमा बजेटसम्बन्धी कामलाई नै मुख्य प्राथमिकतामा राख्ने गरिएको छ । अधिवेशन सुरु हुनासाथ प्रिबजेट छलफल हुनेछ । यस पटक भने सरकारले शासकीय सूधारका लागि १०० कार्यसूचीमा गर्ने कामका लागि विभिन्न ऐन, कानुन ल्याउनुपर्ने तथा संशोधन गर्नुपर्ने भएकाले सकेसम्म धेरै विधेयक ल्याउने तयारीमा सरकार लागेको छ । नयाँ प्रतिनिधिसभा आएपछिको संघीय संसद्को गत अधिवेशन १९ चैतमा सुरु भएर २७ चैतमा अन्त्य भएको थियो ।