काठमाडौँ । पलिहो पटक सम्पन्न २०७४ सालको स्थानीय तहको निर्वाचनअघि काठमाडौँ उपत्यका भित्रकै टोखा नगरपालिकाका कतिपय क्षेत्रका स्थानीय नागरिकले विकासको प्रत्यक्ष अनुुभूती नै गर्न पाएका थिएनन् । तर अहिले यस क्षेत्रमा चिल्ला सडक र त्यसमा गुड्ने सुविधायुक्त यातायातको पहुुँच एक घर एक धारोले गर्दा टोखा नयाँ, व्यवस्थित र आधुुनिक सहरको रुपमा स्थापित हुुँदै गएको छ ।
टोखा क्षेत्र साँच्चिकै शहर जस्तो अनुभूति हुने नगरपालिका बनाउन पूर्वाधार नै पहिलो शर्त हो भन्ने बुझेर नगरपालिका यसमै जुट्यो । नगरपालिका पूर्वाधार विकासको दृष्टिले काठमाडौँ उपत्यकाभित्रको सबैभन्दा गतिशील क्षेत्रहरूमध्ये एक बन्न थालेको छ ।
केही वर्षयता नगरपालिकाले सडक, पुल, ढल, खानेपानी सुविधा, सार्वजनिक भवन, शिक्षा र स्वास्थ्यका क्षेत्रमा पूर्वाधारका लागि उल्लेखनीय लगानी गरेपछि त्यसको नतिजा देखिन थालेको छ । यसले नगरपालिकाको भौतिक स्वरूप त फेरेकै छ, नगरबासीको जीवनस्तर, आर्थिक गतिविधि र सामाजिक पहुँचमा समेत ठूलो बदलाब ल्याइरहेको छ ।
अहिले नगरपालिकाभित्र बस्ती विकास–बिस्तारको गति असाध्यै तीब्र बनेको अवस्थालाई मध्यनजर गर्दै नगरपालिकाले त्यसमा पूर्वाधार निर्माणको सन्तुलन मिलाउने प्रयास गरिरहेको छ । सडक लगायतका कैयौँ पूर्वाधार विकासका आयोजना धमाधम सम्पन्न भइरहेका छन्, कतिपय ठूला पूर्वाधारका आयोजना निर्माण हुने क्रममा छन् । नगरपालिकाले भौतिक संरचना निर्माणमा मात्र सीमित नरहेर कृषि, उद्योग, व्यवसाय, शिक्षा, स्वास्थ्य र पर्यटन लगायतका क्षेत्रमा पनि सकेसम्म गुणस्तर कायम भएका र विपद्–प्रतिरोधी पूर्वाधार निर्माणमा जोड दिएको छ ।
त्यसको एउटा उदाहरण खानेपानी पूर्वाधार हो । नगरपालिकाभित्र परम्परागत कुवा, धारा र पँधेरा अझै जीवित छन् । शिबपुरी पहाड र राष्ट्रिय निकुञ्जका स्रोतहरूले नगरबासीलाइ स्वच्छ पिउने पानी र सिँचाइका लागि अतुलनीय योगदान दिएकै छन् । तर शहरीकरणसँगै पानीको माग पनि ह्वात्तै बढेको छ । यही अवस्थालाई ध्यानमा राखेर सतही स्रोतका अतिरिक्त भू–गर्भीय जलभण्डार पनि प्रयोगमा ल्याउन थालिएको छ । नगरपालिकाले नयाँ पानीका स्रोतहरूको पहिचान गर्दै मेलम्ची खानेपानी आयोजनासँग सहकार्यका माध्यमबाट स्थायी समाधानको तयारी पनि गरिरहेको छ ।
सडक र ढल व्यवस्थापनको गति
टोखा नगरपालिकाका ११ वटै वडा कार्यालयलाई जोड्ने ६ देखि ८ मिटर चौडा सडकलाई पक्की बनाउने काम लगभग पूरा भएको छ । त्यस्तै, साँघुरा सडकहरूलाई बिस्तार गरेर व्यवस्थित र फराकिला बनाइएको छ ।
यी त्यस्ता निर्माणक काम हुन् जसले टोखा नगरपालिकालाई भौतिक पूर्वाधारका दृष्टिले काठमाडौँ उपत्यकाकै अग्रणी नगर बनाउने आधार तयार पारिरहेका छन् । पहाडी भूगोललाई कहिल्यै अभिशाप नठानेको, बरु त्यसैलाई अवसर बनाएर सडक, पानी, पुल र सार्वजनिक संरचनामा पालिकाले गति ल्याएको प्रमुख प्रशासकीय अधिकृत कमल भटराईले बताए । “त्यो केवल कंक्रिटको कुरा होइन । यो त यहाँका नागरिकको दैनिकीलाई सहज बनाउने, बजारसम्म पुग्ने समय घटाउने र छोराछोरीलाई स्कूल पु¥याउन सजिलो पार्ने कुरा पनि हो,” उनले भने । हरेक नयाँ सडक, हरेक नयाँ पुल र हरेक पाइपलाइनले यहाँका बासिन्दाको समय मात्र होइन, सपना पनि बचत गरिरहेको र यो नगरप्रमुखसहितका जनप्रतिनिधिलगायतको टिमवर्कको परिणाम भएको भट्टराईको भनाइ छ ।