भक्तपुर, वैशाख ५ गते । भक्तपुुरको सूर्यविनायक नगरपालिकाले विकासलाई योजनाबद्ध, पारदर्शी र नागरिक केन्द्रित बनाउने स्पष्ट लक्ष्यसहित अघि बढिरहेको छ। तीव्र शहरीकरण, बढ्दो जनसंख्या र पूर्वाधारको चापबीच नगरलाई व्यवस्थित विकासतर्फ रूपान्तरण गर्ने अभियानलाई अहिले प्राथमिकतामा राखिएको छ ।
नगर प्रमुख बासुदेव थापाको नेतृत्वमा नगरको समग्र विकास दृष्टिकोणलाई व्यवहारिक रूपमा कार्यान्वयन गर्ने काम भइरहेको छ भने प्रशासनिक तहमा प्रमुख प्रशासकीय अधिकृत युवराज आचार्यको सक्रियताले सेवा प्रवाह, पारदर्शिता र कार्यक्षमतामा उल्लेखनीय सुधार देखिएको छ ।
नगरपालिकाको नीति कार्यान्वयन, सेवा प्रवाह र प्रशासनिक व्यवस्थापनलाई प्रभावकारी बनाउन प्रमुख प्रशासकीय अधिकृत युवराज आचार्यको भूमिका महत्वपूर्ण देखिन्छ ।
जनप्रतिनिधि र प्रशासनबीचको समन्वयलाई सुदृढ गर्दै शाखा, वडा कार्यालय तथा सेवा केन्द्रहरूबाट हुने कामकाजलाई छिटो, सहज र व्यवस्थित बनाउने दिशामा उहाँ निरन्तर सक्रिय हुनुहुन्छ ।
उहाँको सालिन र सन्तुलित स्वभाव प्रशासनिक नेतृत्वमा स्पष्ट झल्किन्छ। करिब एक वर्षदेखि निरन्तर सक्रिय रूपमा जिम्मेवारी सम्हाल्दै आउनुभएका आचार्यले आफ्नो कार्यशैलीमार्फत कार्यालयको कामकाजलाई व्यवस्थित र अनुशासित बनाउनु भएको छ । ढिलासुस्ती घटाउने, सेवाग्राहीमैत्री वातावरण निर्माण गर्ने र जिम्मेवारीबोध बढाउनेतर्फ उहाँको जोड देखिन्छ ।
समयअनुसार प्रशासन रूपान्तरण हुनुपर्ने धारणा राख्दै उहाँ कर्मचारीहरूलाई पनि नयाँ प्रविधि, ज्ञान र कार्यसंस्कृतिमा अभ्यस्त हुनुपर्नेमा जोड दिनुहुन्छ। “समयअनुसार कर्मचारीहरू पनि अद्यावधिक हुनुपर्छ, तब मात्र सेवा प्रभावकारी हुन्छ,” भन्ने उहाँको स्पष्ट दृष्टिकोणले कार्यालयभित्र सकारात्मक परिवर्तन ल्याएको छ ।
समग्रमा नगर नेतृत्व र प्रशासनबीचको सहकार्य, पारदर्शिता र सेवा–मैत्री दृष्टिकोणका कारण सूर्यविनायक नगरपालिका क्रमशः व्यवस्थित र परिणाममुखी विकासतर्फ अघि बढिरहेको देखिन्छ। जनप्रतिनिधिको नीति र प्रशासनको कार्यान्वयनबीच देखिएको समन्वय नै हालको प्रमुख शक्ति बनेको छ ।