काठमाडौँ । नयाँ वर्षदेखि हरेक शनिबार काठमाडौंको असन क्षेत्रमा सवारी साधनलाई प्रवेश निषेध गरिने भएको छ । असनको मौलिकतालाई जोगाउन ५ बैशाखदेखि हरेक शनिबार सवारी साधन प्रवेश निषेध गरेर सामाजिक, सांस्कृतिक तथा व्यापारिक क्रियाकलाप बढाउने काठमाडौं महानगरपालिकाले निर्णय गरेको हो ।
यस अघि स्थानीय संघसंस्था, क्लब तथा समुदायको संक्रियतामा २८ चैतबाटै सवारी साधान निषेध गर्ने तयारी थियो । यस क्रममा काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलको अध्यक्षतामा प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँ, वडाध्यक्ष योगेश खड्गी, प्रशासन विभागका प्रमुख महेश काफ्लेसहित सरोकारवाला कार्यालयका अधिकारी, स्थानीय संघसंस्था तथा क्लब र समुदायका प्रतिनिधिसहितको बैठकले तयारीमा कमजोरी हुन नदिन कार्यक्रमलाई एक साता पछाडि सारेर ५ बैशाखबाट कार्यक्रम कार्यान्वयन गर्ने निर्णय गरेको हो ।
‘असन सुनदेखि नुनसम्म र जन्मदेखि मृत्युसम्मका धार्मिक तथा सामाजिक कामका लागि आवश्यक पर्ने स्थान हो । यसको प्राचीन र सांस्कृतिक महत्व जोगाउनु हाम्रो दायित्व हो ।’ बैठकमा कार्यवाहक प्रमुख डंगोलले भनिन् ‘वडा कार्यालयको नेतृत्व, सरोकारवाला र साझेदारहरुको सहभागिता र स्थानीय अपनत्वमा कार्यक्रम प्रारम्भ गरौँ । थालिएको कामलाई दिगो बनाऔँ ।’ आवागमन र स्थानीयबासीको सहजता तथा सुरक्षालाई प्राथमिकतामा राखेर कार्यक्रम सञ्चालन गरिने उनको भनाइ थियो ।
‘स्थानीय, संघसंस्था, क्लब तथा समुदायको साथमा वडाले कार्यक्रम अगाडि बढाएको हो ।’ वडाध्यक्ष योगेशकुमार खड्गीले भने, ‘कार्यक्रमले असन बजारको मौलिकतासँगै वायु प्रदुषण नियन्त्रण र सहरी वातावरण सुधारमा योगदान गर्नेछ ।’
‘भेहिकल फ्री असन’ कार्यक्रमअन्तर्गत महानगरपालिकाको वडा नम्बर २७ कमलाक्षी चोकदेखि असनसम्म, भोटाहिटी चोकदेखि असनसम्म र महाबौद्धबाट असनसम्मको क्षेत्रमा हरेक सवारी साधन प्रवेशमा रोक लगाइनेछ । यस क्षेत्रबाट गन्तव्यमा जाने सवारी साधनलाई वैकल्पिक मार्ग प्रदान गरिनेछ ।