काठमाडौँ । पूर्वगृहमन्त्री रमेश लेखकलाई प्रहरीले आज (बिहीबार) हाजिरी जमानीमा रिहा गरेको छ । काठमाडौँ प्रहरी परिसरका प्रवक्ता एसपी पवनकुमार भट्टराईका अनुसार आवश्यक परेका बेला हाजिर हुने सर्तमा लेखकलाई उनकी श्रीमती यशोदा जोशी लेखकको जिम्मामा छाडिएको हो ।
उनले भने, ‘अनुसन्धानका क्रममा खोजेका बखत हाजिर हुने सर्तमा उहाँहरूलाई जिम्मा जमानीमा रिहा गरियो ।’ सर्वोच्च अदालतको आदेशअनुसार सरकारी वकिलबाट पत्र आएपछि उनलाई रिहा गरिएको हो ।
गत भदौमा भएको जेनजी आन्दोलनमा ज्यान जाने गरी दमन गरेको अभियोगमा तत्कालीन प्रधानमन्त्री ओली र तत्कालीन गृहमन्त्री लेखकलाई जिल्ला प्रहरी परिसर काठमाडौँले यही चैत १४ गते शनिबार पक्राउ गरेको थियो ।
स्वास्थ्य जाँचका लागि त्रिवि शिक्षण अस्पताल लगिएका एमाले अध्यक्ष ओली बिरामी भएका कारण त्यही दिन अस्पतालमै भर्ना भएका थिए भने लेखकलाई महाराजगन्जमै रहेको प्रहरीको २ नं गणमा राखिएको थियो ।
गत सोमबार सर्वोच्च अदालतका न्यायाधीश विनोद शर्मा र सुनील पोखरेलको इजलासले उनीहरूको बन्दी प्रत्यक्षीकरणको रिट खारेज गरे पनि परमादेश जारी गर्दै उनीहरूलाई थुनामुक्त हुने बाटो खुलाएको हो। अब उप्रान्त म्याद थप नगर्न भनेको छ । जुन आदेशका कारण उनीहरू अब थुनामा बस्नुनपर्ने भएको हो ।प्रहरी हिरासतबाट मुक्त भए पनि पत्थरीको उपचार जारी रहेकाले पूर्वप्रधानमन्त्री ओली भने सोमबार मात्र शिक्षण अस्पतालबाट डिस्चार्ज हुने बताइएको छ।