काठमाडौँमा । काठमाडौँमा सम्पन्न नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) को नवौँ संस्करण विभिन्न विधामा उत्कृष्ट चलचित्र तथा स्रष्टालाई सम्मान गर्दै समापन भएको छ । सोमबार सुन्धारास्थित सिभिल मलमा आयोजित समापन समारोह नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । महोत्सवमा दीपक रौनियार निर्देशित ‘राजागन्ज ः पूजा सर’ ले सर्वोत्कृष्ट अन्तर्राष्ट्रिय चलचित्रको अवार्ड जित्दै ट्रफीसहित १ हजार ५०० अमेरिकी डलर पुरस्कार प्राप्त गर्यो ।
राष्ट्रियतर्फ समुन्द्र भट्ट निर्देशित ‘गुन्यू चोलो : द ड्रेस’ उत्कृष्ट घोषित हुँदै १ हजार अमेरिकी डलरसहित सम्मानित भयो । यसै चलचित्रबाट समुन्द्र भट्ट उत्कृष्ट निर्देशक बन्न सफल भइन् भने नाजिर हुसेनले सर्वोत्कृष्ट नायकको अवार्ड हात पारे । त्यस्तै, चलचित्र ‘कोसेढुंगा’बाट सुरक्षा पन्त सर्वोत्कृष्ट नायिका घोषित भइन् भने सोही फिल्मका बाबु श्रेष्ठले उत्कृष्ट छायांकनको अवार्ड जिते । ‘केटी हराएको सूचना’बाट दीपेन्द्र गौचनले उत्कृष्ट पटकथाकारको अवार्ड प्राप्त गरे । दक्षिण एसियाली प्रतिस्पर्धातर्फ नेपाली भाषाको भारतीय चलचित्र ‘जार’ सर्वोत्कृष्ट घोषित भयो ।
अन्तर्राष्ट्रिय डकुमेन्ट्रीतर्फ आइसल्यान्डको ‘ग्राउन्ड बिनिथ आवर फिट’ उत्कृष्ट रह्यो भने अन्तर्राष्ट्रिय सर्ट फिल्मतर्फ इरानी चलचित्र ‘सिप’ विजेता बन्यो । एआई थिममा आधारित सर्ट फिल्म ‘स्पिरिट अफ द माउन्टेन’ पनि पुरस्कृत भयो । विद्यार्थी चलचित्रतर्फ मेक्सिकोको ‘पासारिन्हो’ उत्कृष्ट घोषित भयो । राष्ट्रिय डकुमेन्ट्रीतर्फ दीपक छोदेन लामाको ‘होम इज नट अ प्लेस’ र राष्ट्रिय सर्ट फिल्मतर्फ सुरज पौडेलको ‘रिहाना’ विजेता बने । यी दुवैलाई ५० हजार रुपैयाँसहित ट्रफी प्रदान गरियो । डन किहोते अवार्ड इरानी फिल्म ‘माई डटर्ज हेयर’ ले प्राप्त गर्यो भने विभिन्न विधामा स्पेसल मेन्सन अवार्ड पनि प्रदान गरियो ।
प्रमुख अतिथि हार्तम्छालीले नेपाली चलचित्रलाई अन्तर्राष्ट्रिय स्तरमा जोड्ने महŒवपूर्ण भूमिका निर्वाह गरेको भन्दै निफ टोलीको प्रशंसा गरे । अध्यक्ष केपी पाठकले महोत्सव सफल बनाउन सहयोग गर्ने सबैप्रति आभार व्यक्त गरे । यही १९ चैतबाट सुरु भएको महोत्सवले नेपाली र अन्तर्राष्ट्रिय चलचित्रबीच सांस्कृतिक आदान–प्रदान र सहकार्यको अवसर प्रदान गरेको आयोजकले जनाएको छ ।