काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले आज बुधबार देशका विभिन्न ठाउँमा चट्याङ, हावाहुरी, असिनासहित वर्षा र हिमपात हुने भन्दै सावधानी अपनाउन अनुरोध गरेको छ । विभागको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् रोजन लामिछानेले १–२ ठाउँमा भारी वर्षा वा हिमपात हुने सम्भावना पनि रहेको जानकारी दिए । उनले हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेको तथा बुधबारदेखि थप बढ्ने भएकाले मौसमको अवस्थाअनुसार सावधानी अपनाएर काम गर्न अनुरोध गरेका छन् ।
यसको असर पश्चिम नेपालमा बढी रहेको र ती क्षेत्रमा भने बिहानैबाट असर गर्ने उनले बताए । उनका अनुसार दिउँसो त्यसको असर काठमाडौँमा पनि आइपुग्नेछ । विभागले मंगलबार साँझ जारी गरेको बुलेटिनअनुसार बुधबार गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा पूर्णतया बादल लाग्ने तथा बाँकी भूभागमा साधारणतया बादल लाग्ने जनाइएको छ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका धेरै स्थान तथा कोसी र बाग्मती प्रदेशको पहाडी र हिमाली भागका केही स्थानमा, मधेस प्रदेशलगायत कोसी र बाग्मती प्रदेशको तराई भागका थोरै स्थानमा चट्याङ, हावाहुरी र असिनासहित मध्यम वर्षा र हिमपातको सम्भावना रहेको विभागले जनाएको छ ।
यता गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी र हिमाली भागको १–२ स्थानमा भारी वर्षा र हिमपातको सम्भावना रहेको पनि मौसमविद् लामिछानेले बताए । मधेस, लुम्बिनी, गण्डकी, बाग्मती र कोसी प्रदेशको पहाडी र तराई भागमा केही स्थानमा हावाहुरीको पनि सम्भावना छ । बिहीबार पनि बदली कायम रहनेछ ।