काठमाडौँ । नेपालमा सौन्दर्य प्रसाधनको क्षेत्रमा लामो समयदेखि लोकप्रिय प्रिमियम कस्मेटिक ब्रान्ड ‘कलर एसेन्स’ र स्किन केयर ब्रान्ड ‘नेचर्स एसेन्स’को आधिकारिक विक्रेता एसएमके इन्टरप्राइजेज प्रालिको आयोजनामा ‘एनुअल डिस्ट्रिब्युटर मिट २०२६’ भव्य रूपमा सम्पन्न भएको छ । देशभरका ३७ जना वितरकहरूको सहभागिता रहेको उक्त कार्यक्रममा कम्पनीको प्रगति समीक्षा, उत्कृष्ट वितरक तथा कर्मचारीलाई सम्मान र नयाँ उत्पादन सार्वजनिक गरिएको थियो ।
कार्यक्रमको उद्घाटन एसएमके इन्टरप्राइजेजका अध्यक्ष विश्व के.सी. र कम्पनीका सबैभन्दा पुराना वितरक लक्ष्मी श्रेष्ठले संयुक्त रूपमा पानसमा दीप प्रज्ज्वलन गरी गरेका थिए । उद्घाटनपश्चात् उपस्थित सम्पूर्ण वितरकहरूलाई खादा ओढाएर सम्मान गरिएको थियो । सो अवसरमा औपचारिक स्वागत मन्तव्य राख्दै कम्पनीका निर्देशक मणिकर्ण केसीले आगामी वर्ष थप उचाईमा पुग्ने कम्पनीको लक्ष्य रहेको बताएका थिए ।
कार्यक्रममा कम्पनीका कन्ट्री म्यानेजर रमेश उप्रेतीले यस वर्ष कम्पनीले हासिल गरेको अभूतपूर्व सफलता, समग्र सेल्स फिगर र प्रगतिको विवरण प्रस्तुत गरेका थिए। ग्राहकहरूको माग र आवश्यकतालाई ध्यानमा राख्दै अध्यक्ष विश्व केसी, निर्देशक मणिकर्ण केसी र कन्ट्री म्यानेजर उप्रेतीले संयुक्त रूपमा कलर एसेन्सको नयाँ स्किन केयर उत्पादन ‘ब्राइट एन्ड लाइट सनस्क्रिन’ सार्वजनिक गरेका थिए । यस नयाँ उत्पादनले छालालाई भित्रैदेखि हाइड्रेट गर्ने र प्राकृतिक चमक दिने कम्पनीले जनाएको छ। कार्यक्रममा वितरकहरूको जिज्ञासा समाधान र अनुभव आदानप्रदानका लागि अन्तरक्रिया सत्र समेत सञ्चालन गरिएको थियो ।
वर्षभरि अहोरात्र खटेर कम्पनीलाई नयाँ उचाइमा पुर्याउन महत्वपूर्ण भूमिका खेल्ने उत्कृष्ट जनशक्तिलाई कार्यक्रममा विशेष सम्मान गरिएको थियो । नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानका उपकुलपति एवं बरिष्ठ गायक शम्भु राई र कार्यक्रमका सभापति विश्व के.सी.ले संयुक्त रूपमा ‘बेस्ट स्टाफ अफ द इयर’ अन्तर्गत ४ जना टीएसआई र २ जना टीएसओका साथै ‘बेस्ट डिस्ट्रिब्युटर अफ द इयर’ अन्तर्गत ३ जना उत्कृष्ट वितरकलाई अवार्ड वितरण गरेका थिए ।
कार्यक्रमका सभापति तथा अध्यक्ष विश्व केसीले कम्पनीको आगामी दिशा, बजारको अवस्था र भावी योजनाबारे आफ्नो मन्तव्य राख्दै औपचारिक सत्रको समापन गरेका थिए । सञ्चालक जीवन पराजुलीले सहजीकरण गरेको उक्त कार्यक्रमको अन्त्यमा सांगीतिक माहोल सिर्जना गरिएको थियो ।
जसमा गायक शम्भु राई र गायिका बिन्दु परियारले आफ्ना चर्चित तथा सुपरहिट गीतहरू प्रस्तुत गर्दै उपस्थित वितरक तथा अतिथिहरूलाई भरपुर सांगीतिक मनोरञ्जन प्रदान गरेका थिए ।
उक्त कार्यक्रममा अग्रज सङ्गीतकार तथा गायक शम्भू राई आफ्ना चर्चित गीतहरू प्रस्तुत गर्दै दर्शकहरूलाई भरपुर मनोरञ्जन प्रदान गर्नुभएको थियो । त्यसैगरी, अहिलेकी चर्चित गायिका बिन्दु परियारले आफ्ना डान्सिङ सुपरहिट गीतहरू प्रस्तुत गर्दै उपस्थित सम्पूर्ण दर्शकलाई झुमाएर मनोरञ्जन दिएकी थिइन् ।