काठमाडौँ । एसियाली विकास बैंक (एडिबी)ले मध्यपूर्वमा भइरहेको द्वन्द्वका कारण उत्पन्न आर्थिक तथा वित्तीय प्रभावहरू न्यूनीकरण गर्न सहायता दिने भएको छ । जुन सहायताको लागि एडिबीले वित्तीय प्याकेजको घोषणा गरेको छ । 'एडीबीले विभिन्न देशहरूलाई तत्कालका दबाबहरू व्यवस्थापन गर्न र दीर्घकालीन उत्थानशीलता सुदृढ गर्न द्रुत, लचिलो सहायता उपलब्ध गराउने जानकारी दिएको छ ।
विशेषगरी अत्यावश्यक वस्तुहरूको (तेलसमेत) आयात सुनिश्चित गर्न छिटो निकासा हुने बजेट सहायता तथा व्यापार र आपूर्ति शृंखला वित्तपोषण पर्ने जनाइएको छ । एडीबीका अध्यक्ष मासातो कान्डाले विश्वव्यापी अनिश्चितताको घडीमा एसिया र प्रशान्त क्षेत्रलाई सहयोग गर्दै आएको विगतको ट्र्याक रेकर्डलाई थप मजबुत बनाउने काम अहिलेको प्याकेजले गर्ने बताए ।
एडिबीसँग हाल सञ्चालित र योजनाबद्ध कार्यहरूलाई सुरक्षित राख्न पर्याप्त स्रोतसाधन रहेको उनको भनाइ छ । विकासशील सदस्य राष्ट्रहरूको आवश्यकता अनुरूप काउन्टरसाइक्लिकल (चक्रीय-प्रतिकूल) ऋण बफरको उपयोग गर्दै आपतकालीन सहायता विस्तार गर्न बैंक सक्षम भएको एडिबीले जनाएको छ ।
बैंकले विश्व बजारको विकासक्रम र विशेषगरी ऊर्जा मूल्यको अस्थिरता, मुद्रास्फीतिको दबाब र बाह्य खाता सन्तुलनको सन्दर्भमा एसिया र प्रशान्त क्षेत्रका अर्थतन्त्रहरूमा पर्न सक्ने सम्भावित प्रभावहरूलाई नजिकबाट नियालिरहेको जनाएको छ ।
एडिबीको पछिल्लो विश्लेषणले देखाएअनुसार सिपिङ मार्गहरूमा (पानीजहाजको रुटमा) भएको अवरोधले गर्दा लागत र डेलिभरी समय पहिले नै बढिसकेको छ, भने आपूर्तिको जोखिम ऊर्जाबाट अघि बढेर पेट्रोकेमिकल्स र मल जस्ता प्रमुख औद्योगिक कच्चा पदार्थसम्म फैलिएको छ ।
कृषि र खाद्य उत्पादनमा गम्भीर असर पार्ने देखिएको छ । एडिबीको अध्ययन अनुसार पर्यटन र रेमिट्यान्समा निर्भर अर्थतन्त्रहरूले यी प्रारम्भिक झट्काहरूभन्दा बाहिर थप जटिल जोखिमहरूको सामना गरिरहेको देखिएको छ ।
यसका अतिरिक्त द्वन्द्वले यस क्षेत्रभरि अनिश्चितता बढाइरहेको छ र वित्तीय अवस्थाहरूलाई कसिलो बनाउदा मुद्राहरू र पुँजी प्रवाहमा दबाब सिर्जना गरेको उल्लेख छ । यस्ता समस्या समाधान गर्न एडिबीले विकासशील सदस्य राष्ट्रहरूलाई जोखिम व्यवस्थापन गर्न, समष्टिगत आर्थिक स्थिरता कायम राख्न र जोखिममा परेका जनसंख्याको सुरक्षा गर्न समयमै वित्तीय र प्राविधिक सहयोग परिचालन गर्न तयार भएको जनाएको छ ।
यो प्याकेज मुख्य दुई भागमा विभाजन गरिएको छ । पहिलो, बढ्दो वित्तीय दबाबको सामना गरिरहेका विकासशील सदस्य राष्ट्रहरूलाई मद्दत गर्न छिटो निकासा हुने बजेट सहायता दिने उल्लेख छ ।
विशेषगरी सरकारहरूलाई आफ्नो अर्थतन्त्र स्थिर राख्न र अति जोखिममा रहेका मानिसहरूको जीवन र जीविकोपार्जनमा पर्न जाने धक्काहरूको प्रभाव कम गर्न बैंकको 'काउन्टरसाइक्लिकल सपोर्ट फ्यासिलिटी' (चक्रीय-प्रतिकूल सहायता सुविधा) को प्रयोग समावेश गरिएको उल्लेख छ । दोस्रो एडीबीको 'व्यापार र आपूर्ति शृंखला वित्तपोषण कार्यक्रम' को लागि सहायता दिन जनाएको छ ।
ऊर्जा र खाद्यान्न लगायतका महत्त्वपूर्ण आयातहरूको निरन्तरता सुनिश्चित गर्न निजी क्षेत्रलाई सहयोग गरर्ने बताइउको छ। सीमित अवधिका लागि मात्र एक अपवादको रूपमा यस कार्यक्रम अन्तर्गत तेल आयातका लागि दिइने सहायतालाई पुनः सक्रिय गर्ने निर्णय एडिबीले गरेको छ ।
तेलको मूल्यमा आएको तीव्र वृद्धि र आपूर्ति शृङ्खलाको अवरोधबाट यस क्षेत्रका अर्थतन्त्रहरू र मानिसहरू गम्भीर रूपमा प्रभावित भइरहेको सन्दर्भमा आर्थिक स्थिरता कायम राख्न तथा गरिब र अति जोखिममा परेका मानिसहरूको सुरक्षा गर्न यो कार्यक्रम ल्याएको जनाएको छ ।