काठमाडाैँ । काठमाडौं महानगरपालिका सहकारी विभागले आफ्नो नियमन क्षेत्रभित्र रहेका सम्पूर्ण सहकारी संस्थाहरूको सुपरीवेक्षण, निरीक्षण तथा अनुगमन कार्य औपचारिक रूपमा सुरु गरेको छ । आर्थिक वर्ष २०८१/०८२ का लागि काठमाडौं महानगरपालिका सहकारी ऐन २०७४ को परिच्छेद १६ बमोजिम उक्त प्रक्रिया अगाडि बढाइएको हो । महानगरपालिका सहकारी विभागका अनुसार विभागबाट गठन हुने अनुगमन तथा निरीक्षण टोली सहकारी संस्थाहरूमा स्थलगत रूपमा पुगेर निरीक्षण गर्नेछ । सो क्रममा सहकारी संस्थाहरूले आवश्यक कागजात, अभिलेख तथा विवरणहरू तयारी अवस्थामा राख्नुपर्नेछ ।
निरीक्षणका क्रममा सहकारी संस्था दर्ता प्रमाणपत्र, विनियम (संशोधित भए संशोधित प्रति सहित), वार्षिक तथा विशेष साधारणसभाका निर्णय प्रतिवेदन, सञ्चालक समिति र लेखा सुपरिवेक्षण समितिको विवरण, सदस्य दर्ता पुस्तिका, शेयर पूँजी विवरण, बचत तथा ऋण कारोबार अभिलेख, ऋण लगानी फाइल, लेखापरीक्षण प्रतिवेदन, बैंक खाता विवरण, कर्मचारी सम्बन्धी कागजात, आन्तरिक नियन्त्रण प्रणालीका कागजातलगायत विवरणहरू माग गरिने विभागले जनाएको छ ।
यसैगरी, प्राधिकरण वा महानगरपालिकाबाट प्राप्त निर्देशन तथा परिपत्रको कार्यान्वयन स्थिति र निरीक्षण टोलीले आवश्यक ठानेका अन्य कागजात तथा सूचनासमेत उपलब्ध गराउनुपर्नेछ ।
महानगरपालिकाले सबै सहकारी संस्थालाई निरीक्षण टोलीलाई सहजीकरण गर्न र माग भए बमोजिम आवश्यक सूचना उपलब्ध गराउन आग्रह गरेको छ । सूचनाको अवज्ञा गरी कागजात तथा विवरण उपलब्ध नगराएमा प्रचलित कानुनबमोजिम कारबाही हुने चेतावनीसमेत दिइएको छ ।