भक्तपुर । स्थानीय सरकार जनताको सबैभन्दा नजिकको शासन प्रणाली हो । जनताको अपेक्षा, आवश्यकता र विकासका आकांक्षालाई नीतिगत निर्णयमार्फत व्यवहारमा उतार्ने प्रमुख जिम्मेवारी स्थानीय तहकै काँधमा रहन्छ । यही जिम्मेवारीलाई आत्मसात् गर्दै सहमति, सहकार्य र सुशासनको अभ्यासमा निरन्तर अघि बढिरहेको छ सूर्यविनायक नगरपालिका ।
स्थापना भएको करिब एक दशकको अवधिमा सूर्यविनायक नगरपालिकाले स्थानीय शासनमा उदाहरणीय अभ्यास स्थापित गर्न सफल भएको छ। प्रारम्भिक चरणदेखि नै विकास निर्माण, सेवा प्रवाह र संस्थागत सुदृढीकरणलाई प्राथमिकतामा राख्दै आएको नगरपालिकाले सहमतिमूलक निर्णय प्रक्रियालाई आफ्नो पहिचानका रूपमा विकास गरेको छ ।
निरन्तर सर्वसम्मत निर्णयको संस्कारलाई संस्थागत गर्दै आएको सूर्यविनायक नगर सभाले पुनः एकपटक सकारात्मक सन्देश दिएको छ। नगरपालिका स्थापना भएयता हालसम्म १९९ वटा कार्यपालिका बैठक र १९ वटा नगर सभा अधिवेशन सर्वसम्मत रूपमा सम्पन्न हुनु स्थानीय शासन प्रणालीमा दुर्लभ र प्रेरणादायी उपलब्धि मानिन्छ ।
नगर प्रमुख बासुदेव थापाको नेतृत्वमा जनप्रतिनिधिहरूबीच राजनीतिक मतभेदलाई विकासको बाधा बन्न नदिई साझा लक्ष्यका लागि एकजुट हुने संस्कार विकसित भएको देखिन्छ ।
नगर प्रमुख थापाका अनुसार “राजनीतिमा प्रतिस्पर्धा र बिकास निर्माणमा ऐक्यबद्धता अनिवार्य हुन्छ” भन्ने मूल मन्त्रकै कारण सूर्यविनायकमा सहमतिको अभ्यास मजबुत बनेको हो ।
पछिल्ला वर्षहरूमा सडक, पुल, खानेपानी, शिक्षा, स्वास्थ्य, पूर्वाधार विकास, वातावरण संरक्षण, विपद् व्यवस्थापन, डिजिटल सेवा प्रवाह तथा सामाजिक विकासका क्षेत्रमा उल्लेखनीय प्रगति भएको नगरपालिकाले जनाएको छ ।
जनप्रतिनिधि, कर्मचारी र नागरिकबीचको समन्वयले विकास योजनाहरू समयमै कार्यान्वयन हुन सकेका छन् भने सेवा प्रवाहमा पारदर्शिता र प्रभावकारिता समेत वृद्धि भएको छ । जनप्रतिनिधिहरूबीचको एकता, आपसी सम्मान र साझा प्रतिबद्धताकै कारण विकास निर्माणका कार्यहरू तीव्र गतिमा अघि बढ्न सकेको नगरपालिकाको भनाइ छ। यसले राजनीतिक स्थायित्वसँगै प्रशासनिक क्षमता अभिवृद्धि र जनविश्वास सुदृढ गर्न महत्त्वपूर्ण योगदान पु¥याएको छ ।
नगर प्रमुख थापाले सर्वसम्मत निर्णय प्रक्रियामा निरन्तर सहयोग पु¥याउने नगरवासी, जनप्रतिनिधि, कर्मचारी तथा सबै सरोकारवाला निकायहरूप्रति आभार व्यक्त गर्दै बाँकी कार्यकालमा पनि यस्तै साथ, सहयोग र विश्वास कायम रहने अपेक्षा व्यक्त गरे ।