भक्तपुर । सूर्यविनायक नगरपालिकाले नगरपालिकाको कामलाई प्रविधि मैत्री बनाउँदै गएको छ । सूचना र प्रविधिको उच्चतम प्रयोग गरी नगरपालिकाले सेवा प्रवाहलाई प्रविधि मैत्री बनाउँदै गएको सूर्यविनायक नगरपालिकाले जनाएको छ ।
नगरपालिकाका सबै शाखा र वडा कार्यालयहरूबाट प्रदान गरिने सेवालाई आइसिटी वेस सर्भिस डेलिभरीको रूपमा विकास गर्दै आएको छ भने अझ व्यवस्थित र प्रविधि मैत्री सेवा प्रवाह गर्ने तयारी सूर्यविनायक नगरपालिकाले गरेको छ ।
आर्थिक प्रशासन लेखाको कामलाई व्यवस्थापन गर्नका लागि संघीय सरकारद्वारा जारी गरिएको सूत्र प्रणाली लागू गरिरहेका छ । नगरपालिकाका प्रमुख बासुदेव थापाले नगरपालिकाको कामलाई पूर्णत प्रविधि मैत्री बनाउँदै लगिएको बताए । आगामी दिनमा अझ उच्चत्तम प्रविधियुक्त सेवा प्रवाह गर्ने तयारी गरिएको स्पष्ट पारे ।
उनका अनुसार शिक्षा र स्वास्थ्यसम्बन्धी धेरै सफ्टवेयरहरू प्रयोगमा ल्याएका छौँ । कर्मचारीहरूको डिजिटल हाजिरीको व्यवस्था गरेका छौँ । नगरपालिकाको डाटा बेसलाई सुदृढीकरण गर्ने काम गरिरहेको छ ।
उनले भने, “विकास निर्माणको काममा सात वर्षमा नमूना बनायौं, अब सेवा प्रवाहलाई प्रविधि मैत्री बनाएर नगरपालिकाबाट पूर्णरुपमा प्रविधि मैत्री सेवा प्रवाह गर्नेछौं ।”
सबै शाखाबाट प्रदान गरिने सेवालाई एकीकृत सिस्टम तथा सफ्टवेयरको माध्यमबाट सेवा प्रवाह गर्ने उद्देश्यले म्यानेजमेन्ट इन्फर्मेशन सिस्टम बनाउने तयारी गरिएको छ । जुन इन्टिग्रेटेड सिस्टम हुन्छ । नगरपालिकाले पारदर्शी सेवा, घरदैलो सेवा, छिटो छरितो सेवा बनाउने नीतिलाई आत्मसाथ गरेको छ । यसले नगरपालिकाको सेवा प्रवाह प्रणाली प्रभावकारी बनाउने सूर्यविनायक नगरपालिकाले जनाएको छ ।