उदयपुर । नेकपा एमाले उदयपुरको अध्यक्षमा भागवत राउत निर्वाचित भएका छन् । गएराती भएको निर्वाचनको अन्तिम परिणाम आउँदा राउत ३४४ मत प्राप्त् गरी निर्वाचित भएका हुन् । राउतसँग प्रतिस्पर्धा गरेका निवर्तमान अध्यक्ष परमेश्वर घिमिरेले २३० मत प्राप्त गरे । घिमिरेलाई राउतले १ सय १४ मतको अन्तरले पराजित गरे ।
यसैगरी उपाध्यक्षमा कालुमान लामा एक मतले बिजयी भएका छन् । बिजयी लामाले १९२ मत प्राप्त गरेका छन्, भने प्रतिस्पर्धी दिलबहादुर तामाङले १९१ र भरतबहादुर थापाले १३७ मत प्राप्त गरेका छन् । यसैगरी सचिवमा टेकबहादुर राउत बिजयी भएका छन् । राउतले १९१ मत प्राप्त गर्नुभएको छ भने प्रतिस्पर्धी महेश रोकाले १४० र शम्भु पौडेलले १८३ मत प्राप्त गरेका छन् ।
उपसचिव खुलातर्फ हेमबहादुर खडका निर्वाचित भएका छन् । खडका १९४ मत प्राप्त गरी बिजयी बन्दा अन्य उम्मेदवारहरु जीवनाथ दाहाल १०८, दुर्गानन्द चौधरी ५३, धर्मबहादुर तामाङ ४६ र मन्दिप राईले ९३ मत प्राप्त गरे ।
महिला उपसचिवमा गंगा राई २६० मत प्राप्त गरी निर्वाचित भएका छन् । उनका प्रतिस्पर्धी महेश्वरी राईले १४९ र गीता खडकाले १२५ मत प्राप्त गरे । यसैगरी सदस्यहरुमा कुनै पालिकामा निर्वाचन र कुनै पालिकामा सर्वसम्मत भएको छ ।