काठमाडौं । नेपाली युवकलाई रुसी सेनामा पठाउने गिरोहका १२ जनालाई प्रहरीले सार्वजनिक गरेको छ । उनीहरूमध्ये ११ जना मंसिर (१४ गते) र एक जना सोमबार (१८ गते) पक्राउ परेका थिए ।
उनीहरूलाई बुधबार काठमाडौँ प्रहरी परिसरमा आयोजित पत्रकार सम्मेलनमार्फत् सार्वजनिक गरिएको हो । मंसिर १३ गते दिपेन परियार, क्षितिज गिरी, शुभास लामा, मनिष न्यौपाने, रोजल महर्जन, हरिबहादुर विश्वकर्मा, ईश्वर अधिकारी, गोकर्ण अर्याल, सुजता रावल, सन्तोष रोका र सन्तोष नेपाल पक्राउ परेका थिए । त्यस्तै सोमबार (मंसिर १८) गते द्रोण डाँगी पक्राउ परेका थिए ।
सरकारले रुसलाई कूटनीतिक नोट पठाउँदै नेपाली नागरिकलाई सेनामा भर्ना नगर्न र भर्ती भइसकेकालाई पनि तत्काल नेपाल पठाउन अनुरोध गरेको छ । युक्रेनसँग जारी युद्ध लड्न रसियन सेनामा भर्ती भएका ६ जना नेपालीले ज्यान गुमाइसकेका छन् भने एक नेपाली बन्धक रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
परराष्ट्रले हालै सार्वजनिक गरेको सूचीअनुसार गोरखाका सन्दीप थपलिया, पुतलीबजार–५, स्याङ्जाका पितम कार्की, मेला–६, दोलखाका राजकुमार रोका, इलाम–५, इलामका गंगाराज मोक्तान, वाणगंगा–१, कपिलवस्तुका रूपक कार्की र पोखरा, कास्कीका देवान राई रुस–युक्रेन युद्धका क्रममा मारिएका हुन् ।