काठमाडाैं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले भुकम्प प्रभावित जिल्ला जाजरकोट र रुकुमपश्चिममा हेलिकोप्टर चढ्न मात्रै आएको आरोप लगाएका छन् । भुकम्प प्रभावित क्षेत्रको स्थलगत अवलोकन र पार्टीका स्वयम् सेवकले गरेका कामको बारेमा बुझ्न जाजरकोट र रुकुमपश्चिमको सिमानान रिम्ना पुगेका अध्यक्ष ओलीले एमालेका स्वयंसेवकले बिना पैसा ८ सय १३ अस्थायी घर बनाएर दिँदा पनि सरकार के हेरेर बसिरहेको प्रश्न गर्दै भने, ‘तपाईहरुलाई परेको विपतमा साथ दिन एमालेका एक हजार एक सय स्वयम् सेवक तपाईहरुकै वस्तीमा आउनु भयो तर सत्ता टिकाउन कमिशन खान, भ्रष्टाचार गर्न, तस्करी गर्न मै केन्द्रीत यो सरकार के हेरिरहेको छ ? विपत्तिले यहाँ थुप्रैको ज्यान गएको, थुप्रै घरबार बिहिन भएको बेला सरकारका प्रधानमन्त्री, गृहमन्त्री देखि राष्ट‘पतिसम्म हेलिकोप्टर उडाउनमै व्यस्त रहे ।’
एमाले जनताको बिपत्तिमा साथ दिने पार्टी भएको दावी गर्नु भएका पुर्वप्रधानमन्त्री ओलीले विपतको वेला घाइतेको उपचारमा जानु पर्ने स्वास्थ्यकर्मीलाई मन्त्रीहरुको ब्रिफीङमा अल्मल्याउने, पिडितको खोज उद्धार र राहतमा लाग्नुपर्ने सुरक्षाकर्मीलाई आफ्नो सुरक्षा व्यवस्थामा केन्द्रीत गराउने सरकारले पिडितको हातमा केही दिन नसकेको उल्लेख गरे ।
‘जाजरकोट भुकम्प पिडितका लागि विभिन्न देशबाट सहयोग आएको छ । हामी साँसदहरुले पनि सहयोग दिएका छौं । त्यो रकम बैंक खातामा मात्रै जम्मा गर्न दिएको हो र ? विभिन्न निकायबाट आएको राहत सामाग्री स्टोरमा थन्क्याउन दिइएको हो ?’ सरकारप्रति प्रश्न गर्दै ओलीले थपे, ‘आफूले केहि नगर्ने भए हाम्रा (एमालेका) स्वयम् सेवकहरुलाई त्यो सामाग्री र रकम दिनु पर्ने हो । बुद्धि र काम गर्ने इच्छा शक्ति नभएको निकम्मा सरकारले अनावश्यक स्टण्टबाजी बाहेक केहि गर्न सकेन ।’
जाजरकोट र रुकुमका भुकम्प पिडित नागरिकको पिंडालाई अनुभूति गर्न आफू प्रभावित क्षेत्रमा आएको बताउनु भएका ओलीले पार्टी केन्द्रको निर्णयबाट तपाईहरुको पिंडालाई कम गर्न देशभरबाट स्वयम् सेवक खटाएको जानकारी दिए । ‘सही चिन्तन नभएसम्म केही काम गर्न सकिदैन् । एमालेमा जुन कार्यक्षमता छ, त्यो अरूसँग छैन, अरूले त्यो कार्यक्षमता प्रदर्शन गर्न सक्दैनन्, नेकपा एमालेसँग जुन जनभावना छ, त्यो जनभावना अरूसँग छैन’, उनले भने ।
मानवीय सेवाको भावले सेवा गरेको भन्दै एमालेका स्वयंसेवकलाई ओलीले धन्यवाद दिनुभयो । यस्तो सेवा भाव अहिले दुर्लभ भएको उनले बताए । देशमा कार्ही समस्या पर्यो भने नेकपा (एमाले) पुग्ने बताउनुभएका ओलीले एमाले सान सौगात र औपचारिकता देखाउन पुग्ने नभई अर्थपूर्ण ढङ्गले पुग्ने र जनताको सेवा गर्न प्रभावित क्षेत्रमा पुग्ने भन्दै प्रष्ट पारे ।
पार्टीबाट खटिएका स्वयम् सेवकलाई प्रमाण पत्र प्रदान गर्दै अध्यक्ष ओलीले बाँकी संरचना निर्माणको जिम्मा स्थानीय पार्टीले लिने र अनुगमन केन्द्रबाट हुने उल्लेख गरे । देशको अर्थतन्त्र रेमिट्यान्समा मात्रै निर्भर भएको बताउनु भएका ओलीले अहिलेको सरकार मान्छे निर्यात गर्ने धाउन्यमा केन्द्रीत रहेको आरोप लगाए । ‘रेमिट्यान्समा केन्द्रीत अर्थतन्त्र स्थायी होइन् तर सरकार त्यसमै प्राथमिकता दिनमा केन्द्रीत देखिन्छ । देशको अर्थतन्त्र निकै धरासायी बन्दापनि यो गठबन्दनको सरकारसँग कुनै योजना छैन्’ उनले थपे ‘यो कुनै कामको सरकार होइन् । देशभर विकास निर्माण ठप्प छ । हामीले सरकार छोड्दा पनि यस्तो अवस्था थिएन । त्यसैले देशको विकास र समृद्धीका लागि एमालेको सरकारको विकल्प छैन् ।’
पार्टीले शुरु गरेको ‘झुलाघाट चिवाभञ्ज्याङ, समृद्धिका लागि संकल्प यात्रा’को छैटौं दिन सुर्खेतबाट भेरी कोरिडोर हुँदै जाजरकोट पुग्नु भएका अध्यक्ष ओलीसहित पार्टीका वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेल, युवराज ज्ञावली, विष्णु पौडेल, सुरेन्द्र पाण्डे, रामबहादुर थापा, महासचिव शंकर पोखरेल, उपमहासचिव प्रदिप ज्ञावली, विष्णु रिमाल, सचिव पद्मा अर्याल लगायतका स्थायी कमिटि, केन्द्रीय कमिटिका नेताहरु सहभागी छन् । रिम्नामा आयोजित कार्यक्रम सकेर अभियान टोली रुकुमपश्चिम हुँदै रुकुमकोट पुगेको छ ।
जाजरकोट र रुकुममा एमालेद्धारा ८ सय १३ अस्थायी आवास निर्माण
नेकपा (एमाले) का स्वयम् सेवकले कार्तिक १७ गते गएको जाजरकोट भुकम्प प्रभावितका ८ सय १३ वटा अस्थायी आवास निर्माण गरेर हस्तान्तरण गरेका छन् । बारेकोट गाउँपालिका १ रामीडाँडा केन्द्रविन्दु भएर गएको भुकम्पमा परेर ध्वस्त भएका जाजरकोट र रुकुमपश्चिम जिल्लाका ८ सय १३ वटा निजि आवास र १६ वटा अस्थायी विद्यालयको निर्माण गरेको प्रभावित क्षेत्रमा खटिनु भएका एमाले केन्द्रीय विपत व्यवस्थापन तथा स्वयम्सेवक विभागका प्रमुख किरण पौडेलले जानकारी दिए ।
१८ गते एमाले उपमहासचिव विष्णु रिमालबाट शुरु भएको भुकम्प प्रभासवत क्षेत्रको स्थलगत अनुगमनको प्रतिवेदन अनुसार एमालेले स्वयम् सेवक परिचालन गरेको थियो । संयोजक पौडेलका१८ गते जिल्ला पार्टी, विद्यार्थी र युवाहरु उद्धार, खोज र राहतमा लागेको थियो ।
‘यहाँ हामीले धेरै गरेका छैनौं तर केहि काम भने गरेका छौं’ संयोजक पौडेलले भने, ‘जाजरकोट र रुकुमपश्चिममा भवन र भौतिक संरचना मात्रै होइन हरेक मान्छेका मनहरुपनि क्षतविक्षत छन् । विपतले विक्षिप्त भएका मनमा थोरै भएपनि खुशी ल्याउने काम गरेका छौं । यो बिचमा खुला आकाश मुनी भोको पेटमा, हप्तौं ननिदाएका आँखाहरुमा निद्रा ल्याउने काम गरेका छौं ।’
भौतिक संरचनाको खोज, उद्धार र पुनःनिर्माणको काम गर्ने दौरानमा हामीले स्थानीय जनता र पार्टीलाई भार नपर्ने गरेर आफैले व्यवस्थापन गरेका छौं । २४ घण्टा पैदल यात्रामा रहेको टिका चौर जस्ता गाउँमा समेत स्वयम् सेवक सेवा गरेको संयोजक पौडेलले बताए ।
‘हामीले सेना र प्रहरीले सम्हाल्न नसकेका खोज उद्धार र सुरक्षित अस्थायी आवास निर्माण गरेका छौं । नलगाड नगरपालका १ को कल्पतमा कल्पतमा २५ वटा रहर लाग्दा मोडेल घर निर्माण गरेर हस्तान्तरण गरेका छौं । विकट क्षेत्रलाई बढि प्राथमिकता दिएका थियौ । चुनावको प्रचारमा नेताहरु नपुगेको स्थानमा पार्टी हामीले काम गर्नु गरेका छौं । जनताको केहीपनि नलिने र भार नपार्ने निर्देशन पार्टी केन्द्रको थियो तर स्थानीयले बिहानै घरमा फलेको साग, फलफूल, तरकारी, माशु ल्याएको नकार्न सकेनौं’ संयोजक पौडेलले भने ।
आफूले कहिल्यै पनि एमाले पार्टीको पहिचान नदिएको बताउनु भएका पौडेलले काम गर्ने सन्दर्भमा अरुपार्टीसँग कहिल्यै होडबाजी नगरेको बताउनुभयो । नेपाली कांग्रेसको पार्टी कार्यालय देखि साहारा खोजिरहेका नागरिकलाई विभेद नगरी सेवा प्रवाह गरेको दावी स्वयम् सेवकहरुले बताएका छन् ।
दुई हजार अस्थायी टहरा निर्माणको लक्ष्य लिएको एमालेले बाँकी निर्माणको काम जाजरकोट र रुकुम पश्चिम जिल्लाको पार्टीले नेतृत्व लिने भएको छ । देशका विभिन्न जिल्लाबाट खटिएका स्वयम् सेवकहरुलाई बिदाई गर्दै स्वयम् सेवक टोलीकासंयोजक पौडेलले निर्माणको कामको जिम्मेवारी पार्टीका जाजरकोट जिल्ला इन्चार्ज खेमबहादुर शाही र रुकुम पश्चिमका अध्यक्ष नन्दराज देवकोटालाई हस्तान्तरण गरे ।
कार्तिक १७ गते राती भुकम्प गएको भोलीपल्ट एमालेको तर्फबाट उपमहासचिव विष्णु रिमालले स्थलगत अनुगमन गरेर शुरु भएको एमालेको अभियान कार्तिक ३० गते पार्टीको मजदुर संगठन जिफण्टका एक सय जना स्वयम् सेवक परिचालन गरेर शुरु भएको थियो । भुकम्प प्रभावित जिल्ला जाजरकोट र रुकुमपश्चिमका वस्तीमा २५ जनाका दरले ४० समुह परिचालन गरिएका थिए ।