दैलेख । नेकपा एकीकृत समाजवादी (नेकपा एस) दैलेखका ५ र कांग्रेसबाट १ जना नेताले एमाले प्रवेश गरेका छन् । एमालेले सञ्चालन गरेको ‘झुलाघाट चिवाभञ्ज्याङ, समृद्धिका लागि संकल्प यात्रा’ अभियानका क्रममा दैलेख जिल्ला पुगेको एमाले अध्यक्ष केपी शर्मा ओली सहभागी भएको कार्यक्रममा उनीहरू एमालेमा प्रवेश गरेका हुन् । एमालेमा प्रवेश गर्नेमा नेकपा एकिकृत समाजवादीका नेता दैलेख जिल्ला कमिटी सदस्य सदस्य राजबहादुर ठेसामगर, गंगाराम थापा, अर्जुन चन्द नौमुले गाउँपालिका कमिटी सदस्य लक्षिराम दर्लामी, नौमुले ४ को वडा कमिटिका सदस्य दलबहादुर सलामी, हर्क गिरी र नेपाली कांग्रेसका रनबहादुर नेपाली रहेका छन् ।
'समृद्ध नेपालः सुखी नेपाली'को लक्ष्य पुरा गर्ने र देशको राष्ट्रियताको पक्षमा लाग्ने नेपालका राजनीतिक दलहरु मध्ये एमाले बाहेक नभएकाले आफू एमाले प्रवेश गरेको राजबहादुर ठेसामगरले जानकारी दिए । ‘विकास र समृद्धीको नेतृत्व गर्ने पार्टी एमाले र समकालिन नेता केपी शर्मा ओली बाहेक अरु कुनै रहेनछन,’ नेकपा एसका जिल्ला कमिटीबाट एमाले प्रवेश गरेका गंगाराम थापाले भने, ‘एमाले र केपी ओलीलाई कमजोर बनाउन हामीलाई अनेक भ्रम फैलाएपनि अब कसैले सक्दैनन् ।’ पार्टी प्रवेश गर्नेलाई एमाले पार्टी अध्यक्ष केपी शर्मा ओलीले माला लगाएर स्वागत गरे ।