काठमाडौं । जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय सम्मेलन (कोप–२८) शनिबारदेखि यूएईमा जारी छ । जसमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी पनि सहभागी छन् । यसैबीच भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र इटालीका प्रधानमन्त्री जियोर्जिया मेलोनीको तस्बिर सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।
इटालीका प्रधानमन्त्री मेलोनीले भारतीय प्रधानमन्त्री मोदीसँग खिचेको सेल्फी तस्बिर एक्समा पोस्ट गरेकी हुन् । जसमा दुवै जना मुस्कुराएका छन् । उनले पोस्टमा लेखेकी छन्, ‘कोप–२८ मा असल साथी ।’
भारतीय प्रधानमन्त्री मोदीले मेलोनीले तस्बिर पोस्ट गरेको झन्डै १६ घण्टापछि मात्र जवाफ दिएका छन् । त्यसलाई रिट्वीट गर्दै उनले लेखेका छन्, ‘साथीहरूसँग भेट्न पाउनु सधैँ सुखद हुन्छ ।’
यसबाहेक मेलोनीले आफ्नो ट्विटमा सेयर गरेको ह्यासट्यागको सबैभन्दा बढी चर्चा भइरहेको छ । इटालीकी प्रधानमन्त्री मेलोनीले आफ्नो पोस्टमा मोदी र मेलोनीलाई मिसाउँदै ह्यासट्याग मेलोडी #Melodi लेखेकी छन्, जसलाई मानिसहरूले धेरै मन पराएका छन्। लाइक र रिट्विट गर्नेको संख्या निकै भइसकेको छ ।