काठमाडौं । कलाकार प्रकाश ढकाल धादिङको बेनिघाट-रोराङ गाउँपालिका वडा नम्बर ७ स्थित कृष्णभीरमा मृत फेला परेका छन्।
आइतबार साँझ ढकालको शव फेला परेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।
त्रिशूलीमा र्याफ्टिङ गर्नेहरूले खोँचमा शव देखेपछि प्रहरीलाई खबर गरेको र सोमबार शव निकालिएको धादिङका एसपी गौतम मिश्रले बताए । स्याङ्जाको चापाकोट नगरपालिका ७ घर भएका ढकाल स्याङ्जाबाट गत शुक्रबार काठमाडौँतर्फ लागेका थिए ।
हाल काठमाडौँमा बस्ने गरेका उनी काठमाडौँ आइनपुग्दै बेपत्ता भएपछि खोजीका लागि आफन्तले प्रहरीमा निवेदनसमेत दिएका थिए । उनको शरीरमा चोट देखिएको छ । मोबाइल पनि उनको साथमै फेला परेको र थप अनुसन्धान भइहेको प्रहरीले जनाएको छ ।
शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगन्ज ल्याइँदै छ । लोकदोहोरी प्रतिष्ठान शाखा यूएईको पूर्व सहसचिवसमेत रहेका ढकालले डेढ दर्जनभन्दा बढी म्युजिक भिडिओमा अभिनय गरेका छन् ।